सेमिफाइनलमा भारतसँग ४८–२४ ले पराजित भएपछि नेपाली महिला कबड्डी टिमले कांस्य पदकमा चित्त बुझाएको छ । नेपाललाई शुक्रबार नागोयाको टोकाई सिटिजन जिम्नेसियममा भारतलाई हराउँदै ऐतिहासिक उपलब्धि हासिल गर्ने अवसर थियो । तर, नेपाल अन्तिम चारमा भारतसँग रोकियो । भारतसँग नेपाल दुवै हाफमा पछि पर्याे । नेपाल पहिलो हाफमा १७–३१ र दोस्रो हाफमा ७–१७ ले पछि परेको थियो ।
नेपाल समूह ‘बी’बाट उपविजेता र भारत समूह ‘ए’को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका थिए । समूह चरणमा थाइल्यान्ड र श्रीलंकालाई हराएको नेपाल चाइनिज ताइपेईसँग पराजित भएको थियो । यद्यपि, सेमिफाइनलमै रोकिए पनि नेपालले कांस्य पदक जितेको छ । नेपालले समूह ‘बी’को अन्तिम खेलमा श्रीलंकालाई हराउँदै सेमिफाइनल पुगेर कांस्य पदक जितेको हो । कबड्डीमा सेमिफाइनलमा हार्ने टोलीलाई पनि कांस्यपदक दिने प्रचलन छ ।
नेपाली महिला कबड्डी टोलीले लगातार दोस्रोपटक कांस्यपदक जितेको हो । यसअघि चीनमा भएको १९औँ एसियाली खेलकुदमा पनि कांस्य पदक जितेको थियो ।
जापानको आइची नागोयामा एसियाली खेलकुदमा नेपालले जितेको यो दोस्रो कांस्य पदक हो । यसअघि कराँतेबाट तेन्जिङ शेर्पाले कुमुते ८४ केजीमाथि नेपाललाई पहिलोे कांस्य पदक दिलाएका थिए । एसियाली खेलकुदमा नेपालबाट २१ खेलका २११ जना प्रतिनिधि सहभागी भएका छन् ।