पोखरामा बंगलादेशी अलराउन्डर सैफुद्दिन

शुक्रबार, ७ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले बंगलादेशी अलराउन्डर मोहम्मद सैफुद्दिनलाई अनुबन्ध गरेको छ । पोखराले तेस्रो संस्करणको एनपिएलका लागि अनुबन्ध गरेको सैफुद्दिन तेस्रो बंगलादेशी खेलाडी हुन् भने समग्रमा पाँचौँ विदेशी खेलाडी हुन् ।

पोखराले यसअघि नै बंगलादेशका चरच्ति अलराउन्डर शाकिब अल हसन र महेदी हसनलाई अनुबन्ध गरिसकेको छ । यस्तै, श्रीलंकाका अलराउन्डरद्वय धनञ्जय लक्षण र चामिका करुणारत्नेलाई पनि अनुबन्ध गरेको छ ।

पेस बलिङ अलराउन्डर सैफुद्दिनलाई अनुबन्ध गरेपछि पोखराको लोअर अर्डर र पेस बलिङ डिपार्टमेन्ट बलियो बनेको छ । नेपाली मिडियम पेसर आकाश चन्दसँगै सैफुद्दिन र चामिका करुणारत्नेले पेस बलिङ डिपार्टमेन्ट सम्हाल्नेछन् ।

२९ वर्षीय सैफुद्दिनले बंगलादेशका लागि ३० ओडिआई र ५१ टी– २० आई खेल खेलेका छन् । उनले ओडिआईमा ४२ र टी– २० आईमा ५७ विकेट लिएका छन् । यस्तै, सबैखाले टी– २० मा १५२ खेल खेल्दै १९३ विकेट लिएका छन् ।

सैफुद्दिनले बंगलादेशको यू– १९ टिम र राष्ट्रिय टिमसँगै बंगलादेशको पाँच फरक फ्रेन्चाइज टिमबाट त्यहाँको लिग खेलिसकेका छन् ।

एनपिएलको तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले श्रीलंकाकै पूर्वस्टार स्पिनर अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । पोखरा एभेन्जर्सले मार्की खेलाडी कुशल भुर्तेलसहित सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना र दिनेश खरेललाई रिटेन गर्दै अर्जुन घर्तमगर, विवेक रानामगर, सुदीप अर्याल, सन्नी बिके, विपिन आचार्य र प्रतीक पोखरेललाई अक्सनबाट आबद्ध गरेको थियो ।

सुझावित समाचार