काठमाडौं । कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि टेस्टराष्ट्र पाकिस्तानका हुसैन तलातलाई अनुबन्ध गरेको छ ।
क्लबले बिहीबार ३० वर्षीय अलराउन्डरलाई भित्र्याएको हो । लाहोरमा जन्मिएका तलातले सन् २०१८ देखि पाकिस्तानी राष्ट्रिय टिमबाट खेल्दै आएका छन् ।
तीव्र गतिका बलरले पाकिस्तानबाट २३ टी–२० आई खेल खेल्दा ४४१ रन बनाएका छन् । त्यस्तै, ६३ विकेट लिएका छन् । यसक्रममा दुई अर्धशतक बनाएका थिए ।
एकदिवसीयतर्फ १२ खेल खेल्दा २२४ रन बनाउनुका साथै ६२ विकेट लिएका छन् । लिस्ट ए मा भने १२५ खेल खेल्दा तीन हजार ७५४ रन बनाएका छन् । यस्तै, १४१ विकेट लिएका छन् ।
तलातको आगमनसँगै टिमको ब्याटर र बलिङ दुवै मजबुद भएको कर्णाली याक्स स्पोर्टस् प्रा.लि.का मालिक गृहेन्द्र घिमिरेले जानकारी गराएका छन् ।
उनले आगामी दिनमा दुई चर्चित क्रिकेटर अनुबन्ध गर्ने पनि बताए । ‘पाकिस्तानी अलराउन्डरको आगमनसँगै हाम्रो टिमको ब्याटिङ र बलिङ दुबै पक्ष बलियो हुने विश्वास लिएका छौँ,’ उनले भने, ‘आगामी दुई सम्झौतालाई पनि दर्शकले मन पराउनुहुनेछ भन्ने लाग्छ । कर्णाली याक्समा चर्चित अनुहार देख्न पाउनुहुनेछ ।’
पाकिस्तानी अलराउन्डर तेस्रो सिजनका लागि कर्णाली याक्समा अनुबन्ध हुने चौथो विदेशी खेलाडी हुन् । यसअघि बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम र अकबर अलीलाई कर्णालीले भित्र्याइसकेको छ । त्यस्तै, दोस्रो सिजनमा सानदार प्रदर्शन गरेको स्कटल्यान्डका अलराउन्डर मार्क वाट पनि टिममा अनुबन्ध भइसकेका छन् । वाटबाहेक तलाल, अरिफुल र अकबर तीनैजना पहिलोपटक एनपिएल खेल्दै छन् ।
कात्तिक ९ बाट सुरु हुने एनपिएलका लागि कर्णालीको मार्कीमा सोमपाल कामी छन् । यस्तै, राष्ट्रिय टिमबाट खेलिरहेका अलराउन्डर गुल्सन झा र बलर नन्दन यादव पनि कर्णालीमै छन् ।
यसबाहेक कर्णालीले कर्णाली प्रदेशकै विपिन शर्मा, युनिस विक्रम सिंह र दीपेन्द्र रावतसँगै पवन सर्राफ, युवराज खत्री, दीपक डुम्रे, सूर्य तामाङ, दिवान पुन र सचिन शर्मालाई अनुबन्ध गरेको छ ।