निर्यात १ खर्ब पुर्‍याउने १४ वर्षअघिको लक्ष्य, अहिले पूरा

चालू आर्थिक वर्षको १० महिनामै १ खर्ब ८ अर्बको निर्यात, वर्षभरिमा सवा खर्ब पुग्ने, तर दिगो नहुने चिन्ता

सोमबार, १० जेठ, २०७८
डिजिटल संस्करण

मुलुकबाट हुने निर्यात १ खर्ब पुर्‍याउने भनेर सरकारले एक दशकअघि लिएको लक्ष्य यो वर्ष बल्ल पूरा भएको छ । सरकारले ०६४ मै ल्याएको तीन वर्षीय अन्तरिम योजनाले निर्यात मूल्य १ खर्ब पुर्‍याउने लक्ष्य लिएको थियो । त्यसको १४ वर्षपछि १ खर्ब रुपैयाँभन्दा बढीको निर्यात गर्न सकेको हो ।

चालू आर्थिक वर्षको १० महिनामा नेपालले १ खर्ब ८ अर्ब ४७ करोड रुपैयाँबराबरको निर्यात गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.१९ प्रतिशतले बढी हो । गत आवको १० महिनामा नेपालले ८२ अर्ब ६ करोड रुपैयाँबराबरको निर्यात गरेको भन्सार विभागको तथ्यांक छ । 

नेपालको दशकअघिको लक्ष्य बल्ल पूरा गरेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाईंले बताए । कोभिडको कहरकै बीच नेपालले उच्चदरको निर्यात वृद्धि गर्न सक्नु सकारात्मक पक्ष भएको उनको भनाइ छ । ‘पछिल्ला वर्षमा खासगरी सोयाबिन आयल र पाम आयलको निर्यात हिस्सा बढी देखिन्छ, यद्यपि अन्य वस्तुको निर्यात पनि बढेको छ,’ उनले भने । 

चालू आर्थिक वर्षमा निर्यात १ खर्ब २५ अर्ब हाराहारी पुग्ने बजगाईंले बताए । ‘मासिक १० अर्बको हाराहारीमा निर्यात भइरहेको छ,’ उनले भने, ‘अबको बाँकी दुई महिनामा २० अर्बको निर्यात हुने देखिन्छ, यसर्थ नेपालको निर्यात चालू वर्षमा १ खर्ब २५ अर्ब हाराहारी पुग्ने देखिन्छ ।’

नेपाल निर्यात व्यवसायी महासंघका अध्यक्ष रामबहादुर गुरुङले निर्यातको दशकअघिको लक्ष्य पूरा हुनु स्वागतयोग्य भए पनि यसको दिगोपना भने चुनौतीपूर्ण रहेको बताए । ‘अहिले नेपालको सम्भावना भएका वस्तुको निर्यात ६० प्रतिशत हाराहारी मात्रै हुन सकेको छ,’ उनले भने, ‘कोभिडका कारण निर्यात अपेक्षित बढ्न सकेको छैन ।’ सोयाबिन आयल  र पाम आयलका कारण निर्यात बढी देखिएको उनले बताए । 

कुल निर्यातमा ३३ प्रतिशत हिस्सा सोयाबिन आयलको
सोयाबिन आयलको निर्यात उच्चदरमा बढेसँगै नेपालको निर्यात आकारमा ठूलो वृद्धि देखिएको हो । चालू आवको १० महिनामा नेपालबाट ३५ अर्ब ७५ करोड रुपैयाँबराबरको २७ हजार ९ सय लिटर सोयाबिन आयल निर्यात भएको छ । नेपालको कुल निर्यातमा सोयाबिन आयलको हिस्सा ३२.९६ प्रतिशत देखिएको छ । अघिल्लो वर्ष नेपालबाट पाम आयलको निर्यात उच्च देखिएको थियो । तर, भारतले पाम आयलको निकासी रोकिदिएपछि अहिले सोयाबिन आयलको निर्यात उच्चदरमा बढिरहेको छ । सोयाबिन आयलको निर्यातसमेत दिगो नभएकाले नेपालको निर्यातको वृद्धि जोगाइराख्नु चुनौतीपूर्ण रहेको गुरुङले बताए ।

यस्तो थियो दशकदेखिको लक्ष्य
नेपालको निर्यात मूल्य हालसम्म १ खर्ब पुग्न सकेको थिएन । एक दशकभन्दा अघिदेखि सरकारले विभिन्न आवधिक योजना तथा रणनीतिमा निर्यातलाई १ खर्ब पुर्‍याउने लक्ष्य राख्दै आएको छ । सरकारले ०६४ मा ल्याएको तीन वर्षीय अन्तरिम योजना (०६४/६५–०६६/६७) को परिमाणात्मक लक्ष्यमा ‘वस्तु निकासीलाई योजना अवधिको अन्तिम वर्षमा ६१ अर्ब रुपैयाँबाट १ खर्ब रुपैयाँ पुर्‍याउने’ उल्लेख गरिएको थियो । तर, उक्त अन्तरिम योजनाको लक्ष्यअनुसार निर्यात बढ्न सकेन । त्यसपछि ०६७/६८ मा आएको त्रिवर्षीय योजनाले पनि सोही लक्ष्यलाई निरन्तरता दिँदै अन्तिम वर्ष ०६९/७० को अन्तिमसम्ममा निर्यात ६१ अर्बबाट १ खर्ब पुर्‍याउने लक्ष्य लियो । तर, सो समयमा पनि उक्त लक्ष्य भेट्न सकिएन । 

कोरोना कहरकै  बीच निर्यात बढ्यो
गएको आर्थिक वर्ष ०७६/७७ मा निर्यात मूल्यले १ खर्ब नाघ्ने अनुमान गरिएको थियो । आर्थिक वर्षको सुरुदेखि नै निर्यातले दोहोरो अंकको वृद्धिदर हासिल गर्दै आएको थियो । ०७६/७७ का ८ महिना (फागुन) सम्ममा निर्यात मासिक सरदर ९ अर्ब ३६ करोडका दरले बढ्दै ७४ अर्ब ९० करोड पुगिसकेको थियो ।

सोही वृद्धिदर कायम हुँदा बाँकी चार महिनामा थप ३७ अर्ब ४५ करोड रुपैयाँबराबरको निर्यात हुने र निर्यात आकार १ खर्ब १२ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको थियो । तर, आठ महिनासम्म निरन्तर उच्चदरमा वृद्धि भइरहेको निर्यातको गतिमा कोरोनाले ब्रेक लगाइदियो । चैतदेखि निर्यात वृद्धि सुस्त भयो, आर्थिक वर्षको अन्त्यमा आइपुग्दा निर्यात वृद्धि ऋणात्मक भयो । यसले गर्दा अघिल्लो वर्ष निर्यात आकार १ खर्ब नाघ्ने सम्भावना पूरा हुन सकेको थिएन । यस वर्ष भने कोभिड कहरकै बीच निर्यात वृद्धि सन्तोषजनक रूपमा भएपछि दशकअघिको लक्ष्य पूरा भएको हो ।

See More On

सुझावित समाचार