सबै स्थानीय तहको साझेदारीमा दोलखामा अक्सिजन प्लान्ट स्थापना गरिने

शनिबार, १ जेठ, २०७८
डिजिटल संस्करण

कोभिड–१९का बिरामीलाई देशभर अक्सिजनको अभाव भएका समाचार आइरहेका वेला दोलखामा भने छुट्टै अक्सिजन प्लान्ट स्थापना गरिने भएको छ । शनिबार जिल्लाका सबै स्थानीय तहका प्रमुखसहितको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले दोलखामा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको हो । 

प्रमुख जिल्ला अधिकारी एवं समितिका संयोजक वासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सबै स्थानीय तहको साझेदारीमा अक्सिजन ग्यासको प्लान्ट स्थापना गर्ने निर्णय गरेको बैठकमा सहभागी तामाकोसी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले जानकारी दिए । । उनका अनुसार प्लान्ट स्थापनाका लागि दोलखाका नौवटै स्थानीय तहले १२ लाखका दरले बजेट व्यवस्थापन गर्ने निर्णय भएको छ । 

पोखरेलले प्लान्टको फास्ट ट्र्याकबाट निर्माण गर्न संकट व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सरकारी टोलीले प्रक्रिया अघि बढाउने र तत्काल स्रोतको व्यवस्थापन भने स्थानीय तहहरूले गर्ने निर्णय भएको बताए । 

समितिले अक्सिजन प्लान्ट कुन ठाउँमा राख्ने भन्नेबारेमा दुईवटा विकल्प रोजेको र त्यसबारे केही दिनमै निर्णय हुने जनाइएको छ । तत्काललाई चरिकोट अस्पताल वा जिरी अस्पतालमध्ये एउटा अस्पतालमा प्लान्ट राखिनेछ । जिरी अस्पतालमा अक्सिजन प्लान्टसँग सम्बन्धित संरचना निर्माण भइरहेको जानकारी आएको उनले बताए । प्लान्ट सञ्चालन गर्न झन्डै एक करोड बजेट खर्च हुने अनुमान गरिएको उनले बताए । 

सिंगटी स्वास्थ्य केन्द्रलाई तत्काल कोभिड अस्पताल बनाइने 
संकट व्यवस्थापन समितिको बैठकले कालिञ्चोक गाउँपालिकामा रहेको सिंगटी प्राथमिक स्वास्थ्य केन्द्रलाई उत्तरका तीनवटा स्थानीय तहहरूको संयुक्त लगानी तथा समन्वयमा तत्काल कोभिड अस्पताल बनाउने निर्णयसमेत गरेको छ । सदरमुकाम र आसपासका अस्पतालहरूमा मात्रै कोभिडका बिरामीहरूको भिड भएकाले सिंगटीलाई कोभिड अस्पताल बनाउने तयारी भएको समितिले जनाएको छ । 

अस्पताल तयार भएसँगै उत्तरी क्षेत्रका तीनवटा स्थानीय तहहरू कालिञ्चोक, बिगु र गौरीशंकर गाउँपालिकाका स्थानीयसहित अन्य क्षेत्रका पनि कोभिडका बिरामीहरूको उपचार सिंगटी अस्पतालमा नै हुनेछ । 

बाहिरबाट आउनेलाई अनिवार्य आइसोलेसन
बैठकले जिल्ला बाहिरबाट आउने अधिकांश नागरिकहरूलाई स्थानीय तह वा वडाले निर्माण गरेको आइसोलेसनमा १० दिन राखेर मात्रै घर पठाउने निर्णय गरेको छ । १० दिन आइसोलेसनमा बसेपछि गरिने पिसिआर परीक्षणमा कोभिड संक्रमण नभएको पुष्टि भएपछि मात्रै घर पठाउने निर्णय भएको छ । 

त्यसका लागि आइसोलेसन व्यवस्थापन तथा खानबस्नको प्रबन्ध सम्बन्धित स्थानीय तह वा वडाले गर्नुपर्ने निर्णय भएको बैठकमा सहभागी दोलखाका प्रहरी प्रमुख डिएसपी भेषराज रिजालले जानकारी दिए ।
 

सुझावित समाचार