बाँके अस्पतालमा भर्ना भएका थप पाँच संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । कोरोनाको उपचार हुँदै आएको नेपालगन्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुईजनाको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए।
उनका अनुसार, भेरी अस्पताल नेपालगन्जमा कोरोना भाइरस संक्रमणका कारण पाँचहिने गर्भवतीको मृत्यु भएको छ ।ठाकुरबाबा नगरपालिका वडा नम्बर १ बर्दियानिवासी ३४ वर्षीया गर्भवतीको आज बिहान मृत्यु भएको हो ।
यसैगरी, भेरी अस्पतालमै उपचाररत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ निवासी ३९ वर्षीय पुरुष र बनागाड कुपिन्डे नगरपालिका-४ सल्याननिवासी ६० वर्षीया महिलाको मृत्यु भएको छ ।
बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा कोहलपुर नगरपालिका वडा नम्बर ९ निवासी ६१ वर्षीय पुरुष र गुलरिया नगरपालिका वडा नम्बर १० बर्दियानिवासी ६० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति वलीले जानकारी दिए ।
योसँगै बाँकेमा कोभिड संक्रमणका कारण उपचारका लागि जिल्लाबाहिरबाट आएका १७५ र जिल्लाकै हालसम्म २२९ जनाले ज्यान गुमाइसकेका छन् ।