लुम्बिनीमा प्रदेश प्रमुखले दिउँसै रात पार्ने काम गरे : खाण

आइतबार, १९ बैशाख, २०७८
डिजिटल संस्करण

प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले लुम्बिनी प्रदेशका प्रदेश प्रमुखले प्रदेश सभाका बहुमत सदस्यको हस्ताक्षरविपरीत अर्को व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गरेर दिउँसै रात पार्ने काम गरेको बताएका छन् । उनले प्रदेश प्रमुख धर्मनाथप्रसाद शाहको कर्म संसदीय पद्धतिको विपरीत भएको प्रतिक्रिया दिए । ‘यो संविधानको मर्म र भावनाविपरीत मात्रै होइन, लोकतन्त्रको उपहास हुने काम हो, बहुमत सांसदको हस्ताक्षर एकातिर भएको अवस्थामा अर्को व्यक्तिलाई मुख्यमन्त्री नियुक्ति गर्ने कुरा संविधान र लोकतन्त्रको बर्खिलाप हो,’ प्रमुख सचेतक खाणले भने । 

उनले नेकपा माओवादी केन्द्र, कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका ४२ सांसदले गरेको हस्ताक्षरविपरीत प्रदेश प्रमुख शाहले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेर दिउँसै रात पारेको बताएका हुन् । 

खाणले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको निर्देशनमा प्रदेश प्रमुख शाहले संविधानमा उल्लेखित व्यवस्थाविपरीत अल्पमतमा रहेका पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाए । ‘केपी ओलीले प्रधानमन्त्री भएको दिनदेखि नै संविधान, विधि र पद्धतिविपरीत काम गर्दै आएका हुन् । अहिले पनि उनले नियुक्त गरेका प्रदेश प्रमुखले संसदीय पद्धतिविपरीत संविधान र कानुनको बर्खिलापमा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका छन्,’ उनले भने । उनले प्रदेश प्रमुखको विधिविपरीतको कामको कांग्रेसले विरोध गर्ने बताए । 

सुझावित समाचार