मकवानपुरमा कोरोना सक्रिय संक्रमितको संख्या पाँच सय नाघेसँगै जिल्लाको तीन स्थानीय तहमा आइतबार मध्यरातबाट निषेधाज्ञा जारी हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा शनिबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले १९ वैशाखको मध्यरातबाट ३१ वैशाखको मध्यराति १२ बजेसम्म जिल्लाका चारवटा स्थानीय तह र राष्ट्रिय राजमार्गमा निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।
सक्रिय कोरोना संक्रमितको संख्या र जोखिमको आधारमा हेटौँडा उपमहानगर, मनहरी, भीमफेदी गाउँपालिका र थाहा नगरपालिका तथा राष्ट्रिय राजमार्गको दायाँ–बायाँ ५०० मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । संघीय राजधानी काठमाडौंसँग जोडिएका कारण राष्ट्रिय राजमार्गको निश्चित क्षेत्रमा मात्र निषेधाज्ञा गरिएको छ ।
जिल्लाका बाँकी ७ स्थानीय तहमा संक्रमितको अवस्था र जोखिमका आधारमा पछि निर्णय गरिने प्रजिअ पाण्डेले बताए । मकवानपुरका पूर्व–पश्चिम राजमार्ग, त्रिभुवन राजपथ, धरान–चतरा, कान्ति लोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी, भीमफेदी–कुलेखानी–फाखेल सडक संघीय राजधानी काठमाडौंसँग जोडिएका छन् ।
मकवानपुरमा ५२४ सक्रिय संक्रमित
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शनिबारसम्ममा मकवानपुरमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या पाँच सय २४ जना पुगेको छ । कार्यालयका अनुसार शनिबार दुई सय ७७ जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गर्दा एक सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । कार्यालयका प्रवक्ता ठाकुर पौडेलले कोरोना भाइरसको दोस्रो लहरको संक्रमण विस्तार भएपछि जिल्लामा एक हजार ६ सय ५० जनाको परीक्षण गर्दा ६ सय दुईजनामा संक्रमण पुष्टि भइसकेको बताए ।
हेटौँडामा हाल सक्रिय संक्रमितमध्ये ११ जना हेटौँडा अस्पतालको एचडियू वार्डमा उपचाररत छन् भने १३ जना हेटौँडा–६ स्थित गौरीटार आइसोलेसन वार्डमा बसिरहेका छन् । मकवानपुरमा कोरोना भाइरस संक्रमित पाँच सयजना होम आइसोलेसनमा छन् ।