अनियमित विद्युतले उपभोक्ता मारमा

आइतबार, २९ चैत, २०७७
डिजिटल संस्करण

जलविद्युत् आयोजनाको हब बन्दै गएको लमजुङमा नियमित विद्युत् नआउँदा उपभोक्ता मारमा परेका छन् । स्थानीय आधा दर्जन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि दैनिक १५–२० पटक विद्युत् अवरुद्ध हुने उपभोक्ताको गुनासो छ ।

यस्तो समस्या पछिल्लो एक महिनादेखि अत्यधिक बढेको बेँसीसहरका स्थानीय व्यवसायी विपिन श्रेष्ठले बताए । कमजोर संरचना र विद्युत् वितरण निकायको लापरबाहीका कारण उपभोक्ताले समस्या भोग्नुपरेको उनको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणमातहतमा रहेर काम गरिरहेको लमजुङ विद्युत् उपभोक्ता संस्था रानीकुवाले वितरण गरेको विद्युत् लाइनमा कहिले उच्च भोल्टेज त, कहिले कम भोल्टेज आउने गरेको छ ।   

 लमजुङवासी मात्र नभई यो समस्याबाट तनहुँका साबिकका तीन गाविस रूपाकोट, चोक चिसापानी र फुर्कोटका उपभोक्तासमेत प्रभावित छन् । लमजुङ विद्युत् उपभोक्ता संस्थाले लमजुङ र तनहुँमा गरी २९ हजार ८ सयवटा घरधुरीमा विद्युत् सेवा दिँदै आएको छ ।

विद्युत् ट्रिपिङले जिल्लामा सञ्चालित इँटा उद्योग, क्रसर, काष्ठ उद्योग, दालमोठ उद्योग, पाउरोटी उद्योग तथा अन्य साना तथा मझौला उद्योग पनि मर्कामा परेका छन् । जिल्लामा ७० मेगावाट क्षमताको मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ए, खुदी, सिउरी, राधी, स्याँगे, छ्याङ्दी, मिदिमलगायतका साना आयोजनाबाट विद्युत् उत्पादन भइरहेको छ । जिल्लामा उत्पादित विद्युत्लाई उदिपुरस्थित सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । 

See More On

सुझावित समाचार