‘हनी ट्रयापिङ’मा संलग्न दुई महिला र एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने जाजरकोट भेरी नगरपालिका– ६ की २८ वर्षीया संगीता शाह ‘रितु’, सिन्धुपाल्चोक साँगाचोक नगरपालिका– १२ की २१ वर्षीया सुस्मिता गिरी र नुवाकोट ताडी गाउँपालिका– ६ का २१ वर्षीय शंकर खनाल रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले ललितपुर महालक्ष्मी नगरपालिका– ४ का दुई पुरुषलाई चाबहिलस्थित गेस्टहाउसमा भेट्न बोलाएका थिए । यस क्रममा उनीहरूले पुरुषलाई कोठामा लगी सँगै बसेको भिडियो गोप्य रूपमा खिचेका थिए । सोही भिडियोका आधारमा उनीहरूले पुरुषबाट आठ लाख रुपैयाँ लिएका थिए ।
अर्को पाँच लाख रुपैयाँको भने शंकर खनालको नाममा चेक काट्न लगाएका थिए । भिडियो भाइरल बनाइदिने धम्की दिँदै उनीहरूले पुरुषबाट रकम लिएको अनुसन्धानबाट देखिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
यसअघि हनी ट्रयापिङकै अभियोगमा दुई महिलालाई प्रहरीले पक्राउ गरेको थियो ।