राष्ट्रपति विद्यादेवी भण्डारीले उत्पादन बढाएर मुलुकलाई आत्मनिर्भर बनाउँदै व्यापार घाटा न्यून गर्न निजी क्षेत्रले विशेष भूमिका खेल्नुपर्ने बताएकी छिन् । सोमबार नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उनले मुलुकलाई समृद्धिको बाटोमा लैजान निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताएकी हुन् । उनले भनिन्, ‘नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन विभिन्न प्रदर्शनीहरूको आयोजना गर्नुका साथै प्रवद्र्धनात्मक गतिविधिद्वारा नेपाली उद्योगीहरूको व्यावसायिक क्षमता वृद्धि गर्न चेम्बर सफल भएको छ ।’
कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले समृद्ध नेपाल निर्माण गर्ने सरकारको लक्ष्य प्राप्तिका लागि सरकारले निजी क्षेत्रसँग घनिष्ठ सम्बन्ध राख्न चाहेको बताए । उनले भने, ‘सरकार, निजी क्षेत्र र सहकारी मिलेर मात्र यो लक्ष्य पूरा गर्न सकिन्छ, आउने दिनमा पनि निजी क्षेत्रसँग जीवन्त सहकार्यका लागि सरकार आह्वान गर्दछ ।’
चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको निजी क्षेत्र सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानको सारथि भएको बताए । उनले भने, ‘सरकार र निजी क्षेत्र समृद्धिका निम्ति एक रथका दुई पांग्रा हुन्, हामी उच्चतम सहकार्यको संस्कृति निर्माण गर्न चाहन्छौँ ।’
सोही अवसरमा राष्ट्रपति भण्डारीले चेम्बरको ७० वर्षे इतिहास झल्किने स्मृतिग्रन्थ विमोचन गरिन् । कार्यक्रममा राष्ट्रपति भण्डारीले पूर्वअध्यक्षहरूलाई सम्मान गरिन् । संस्थापक अध्यक्षहरू स्व. लोकनाथ जोशी, स्व. जुद्धबहादुर श्रेष्ठ, स्व. बिहारीलाल खेतान, स्व. गोवद्र्धनलाल मास्के, स्व. रतिराम अग्रवाल, स्व. जनकदास श्रेष्ठ, स्व. बालकृष्ण श्रेष्ठ, स्व. इन्द्रभक्त श्रेष्ठ, स्व. राजबहादुर चिपालु, स्व. वनवारीलाल मित्तल, स्व. ईश्वरलाल श्रेष्ठका परिवारले सम्मान ग्रहण गरेका छन् । पूर्वअध्यक्षहरू महेशकुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार, निवर्तमान अध्यक्ष सुरेशकुमार बस्नेत र हालका अध्यक्ष राजेशकाजी श्रेष्ठले पनि राष्ट्रपतिबाट सम्मान ग्रहण गरेका छन् ।