‘सरकारलाई दिएको निर्देशन समयमै कार्यान्वयन गराउन प्रभावकारी अनुगमन हुनुपर्छ’

बिहिबार, २० फागुन, २०७७
डिजिटल संस्करण

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संसद्ले दिएका निर्देशन समयमै कार्यान्वयन गराउन संसद् आफैँले क्रियाशीलता देखाउनुपर्ने बताएका छन् । राष्ट्रिय सभाको तीन वर्षको सन्दर्भमा राष्ट्रिय सभाको प्रभावकारिकता तथा कूटनीतिक शिष्टाचारसम्बन्धी बिहीबार आयोजित अभिमुखीकरण कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सभाले सरकारलाई दिएको निर्देशनको अनुगमन प्रभावकारी रूपमा गर्नुपर्ने बताएका हुन् । 

सरकारले सदनमा पेस गरेका विधेयकलाई समयमा नै पास गरेर अगाडि बढाउने विषयमा सभाले समेत ध्यान दिन आवश्यक रहेको उनले बताए । राष्ट्रिय सभा विनाअवरोध सञ्चालन भए पनि विभिन्न समयमा सरकारलाई दिएको निर्देशनको कार्यान्वयनबारे अनविज्ञ हुने अवस्था हटाउनुपर्ने उनको भनाइ छ । राष्ट्रिय सभाको बैठक र विभिन्न समितिले सरकारलाई दिएका निर्देशन कार्यान्वयन भए–नभएको अनुगमन गर्न सम्पूर्ण सदस्य र सम्बन्धित समिति अझ बढी क्रियाशील हुनुपर्ने उनको भनाइ छ । 

राष्ट्रिय सभाको सातौँ अधिवेशनसम्म आइपुग्दा दुई सय २२ वटा बैठक भएको र यस अवधिमा ४१ वटा विधेयक दर्ता भएकोमा १६ वटा विधेयक प्रमाणीकरण भइसकेको, २४ वटामध्ये आठवटा सभामा विचाराधीन रहेको, १० वटा समितिमा विचाराधीन रहेको र ६ वटा विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभाबाट फिर्ता आउन बाँकी रहेको तिमिल्सिनाले जानकारी दिए ।
 

सुझावित समाचार