एकै दिन ८० अंकले घट्यो नेप्से कारोबार रकम बढ्यो

सोमबार, १७ फागुन, २०७७
डिजिटल संस्करण

साताको पहिलो दिन नेप्से परिसूचक ८० अंकले घटेको छ । लगातार दुई दिन घट्दा नेप्सेले १ सय २४ अंक गुमाइसकेको छ । बजारको मूलभूत पक्षहरूमा खासै परिवर्तन नआएको भए पनि केही विश्लेषकहरूले थप केही दिन बजार घट्न सक्ने दाबी गरिरहेका छन् । बैंकहरूको कर्जा लगानीमा वृद्धि भइरहेको खबरले सेयर बजारमा आइरहेको पुँजी घट्ने अनुमानमा पनि बजार घटेको हो । 

राष्ट्र बैंकले प्रकाशित गर्दै आएको बैंकहरूबीच सापटी लिइने अन्तरबैंक ब्याजदर सीमान्तदरमा तल–माथि गरिरहेको छ । यो दर अझै १ प्रतिशतमुनि रहेकाले बैंकिङ प्रणालीमा तरलता अवस्था सुविधाजनक रहेको संकेत गरिरहेको छ । बजार उच्च तहबाट ओर्लिरहेकाले पनि लगानीकर्ता केही आत्तिएको देखिन्छ ।  

आइतबार नेप्से ८० अंकले घटेर २ हजार ४ सय बिन्दुसम्म आइपुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको सेयर कारोबारमापक सेन्सेटिभ इन्डेक्स १४ दशमलव ५३ अंकले घटेर ४ हजार ४७ दशमलव २९ बिन्दुमा झरेको छ । त्यसैगरी, यस दिन सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने सेयरको कारोबारमापक फ्लोट इन्डेक्स ५ दशमलव ५२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ४.६८ अंक घटेको छ । 

नेप्से ओरालो लागे पनि लगानी भने बढेको छ । घटेको बजारमा लगानीकर्ताले खरिद बढाएका छन् । यसअघि कारोबार दिनमा ६ अर्बको सेयर खरिद–बिक्री भएको बजारमा आइतबार ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार रुपैयाँको कारोबार भएको हो । यस दिन २ सय ७ किसिमका धितोपत्र र ऋणपत्रको ९६ हजार १ सय ५१ पटकमा १ करोड ६० लाख १७ हजार कित्ता–इकाइ खरिद–बिक्री भएको हो ।

यस दिन कारोबार रकमका आधारमा शिखर इन्स्योरेन्स शीर्ष स्थानमा छ । ३६ दशमलव १ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको कम्पनीले त्यसपछि कायम हुने चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद सेयरसमेत दिने गरी साधारणसभा डाकेकाले लगानीकर्ता आकर्षित भएका हुन् । 

कम्पनीको सेयर मूल्य करिब ३ प्रतिशतले बढेर २८ सय २४ रुपैयाँ पुगेको छ । साधारणसभा र बोनस सेयरका लागि २६ फागुनमा बुक क्लोज हुने भएको छ । कम्पनीको १ अर्ब २ करोड १६ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा)ले दोस्रो बढी कारोबार गरेको छ । यस दिन यस ६३ करोड ४९ लाख मूल्यबराबरको कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये होटेल तथा पर्यटन उपसमूहको परिसूचक मात्रै बढेको छ भने अन्य १२ उपसमूहको परिसूचक घटेको छ । यस दिन होटेल तथा पर्यटन उपसमूहको परिसूचक ०.५४ प्रतिशत बढेको हो । यस उपसमूहअन्तर्गतको चन्द्रागिरि हिल्सको सेयर मूल्य बढेसँगै परिसूचक बढ्न पुगेको हो ।

See More On

सुझावित समाचार