त्रिविका पूर्वउपकुलपतिहरूले भने– कोरोनाविरुद्धको भ्याक्सिन न्यायोचित रूपमा व्यवस्था हुनुपर्‍यो

बिहिबार, २९ माघ, २०७७
डिजिटल संस्करण
त्रिविका पूर्वउपकुलपतिहरूले भने– कोरोनाविरुद्धको भ्याक्सिन न्यायोचित रूपमा व्यवस्था हुनुपर्‍यो

निजामती कर्मचारी अस्पताल बानेश्वरमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउन नाम दर्ता गर्दै सञ्चारकर्मी । तस्बिर : नयाँ पत्रिका

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिहरूले कोरोना भाइरसविरुद्धको भ्याक्सिन न्यायोचित रूपमा व्यवस्था गर्न माग गरेका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै उनीहरूले भौतिक उपस्थितिमा स्कुल, कलेज र विश्वविद्यालयका कक्षा सञ्चालन भएकाले विद्यार्थी, शिक्षक र कर्मचारीमा जोखिम बढे पनि कोरोनाविरुद्धको भ्याक्सिन लगाउन उनीहरूलाई प्राथमिकताको सूचीमा नपार्नु गलत भएको बताएका छन् । 

‘सामाजिक नैतिकताको खुलेआम उल्लंघन भएको छ । भ्याक्सिनको न्यायोचित वितरणको व्यवस्था गर्न अक्षम सम्बन्धित मन्त्री र मन्त्रीको टोलीले यसको जिम्मेवारी लिई सार्वजनिक रूपमा माफी मागेर सामाजिक नैतिकताप्रति संवेदनशील रहेको जनाउनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै सम्बन्धित सम्पूर्ण कार्य पारदर्शी होस् भन्ने पनि माग छ ।’

उपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी, हीराबहादुर महर्जन र नवीनजंग शाहले स्वास्थ्य मन्त्रालयलाई सामाजिक न्यायप्रति संवेदनशील हुन आग्रह गर्दै सबैभन्दा जोखिममा रहेको ज्येष्ठ नागरिकलाई उपेक्षा नगर्न आग्रह गरेका छन् ।

‘नेपालमा कोरोनाविरुद्धको खोपको पहिलो चरण समाप्त हुँदासम्म सबभन्दा बढी जोखिममा रहेका ज्येष्ठ नागरिकहरूलाई पूर्णतया उपेक्षा गरेको पाइयो । दोस्रो चरणसम्म पनि तिनीहरू उपेक्षित रहे,’ विज्ञप्तिमा भनिएको छ ।

सुझावित समाचार