ललितपुरको युलेन्स स्कुलमा कक्षा १२ मा वातावरण विज्ञानकी छात्रा हुन्, मानवी सुब्बा । पर्यावरणप्रति सचेत रहेकी उनी फेसनबाट हुने प्रदूषण कम गर्न पुराना कपडा तथा सामग्रीहरू पुनः प्रयोगमा ल्याउन कस्सिएकी छिन् । उपयोग भएका, तर पुनः प्रयोयग गर्न मिल्ने लुगा, जुत्ता, झोला तथा अन्य फेसन एसेसोरिजहरू खरिद–बिक्री गर्ने प्लेटफर्म ‘लुगा फर लेस’मार्फत उनले यस्तो प्रयास गरिरहेकी छिन् । उनी भन्छिन्, ‘दिगो फेसन र वातावरणीय प्रतिकूल असर कम गर्ने अवधारणालाई आत्मसात् गर्दै पुराना कपडा तथा एसेसोरिजको इन्स्टाग्राममा लुगा फर लेस स्टोर खोलेकी हुँ ।’
विश्वभरि फैलिएको कोभिड महामारीकै बीचमा १७ वर्षीया सुब्बाले सेकेन्ड ह्यान्ड कपडाको अनलाइन पसल सुरु गरेकी हुन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘लुगा फर लेस’ नामक पेज बनाएर पुराना कपडा, जुत्ता, ब्याग तथा एसेसोरिजहरू बिक्री गर्ने अनलाइन पसलमा उनलाई सहपाठी सर्भानी मानन्धरले साथ दिएकी थिइन् ।
‘लुगा फर लेस’ स्टोरमा आफ्नो निजी प्रयोगका सामानहरू राखेर सुरु गरेको अनलाइन स्टोरले विशेष गरेर विद्यार्थी र युवाहरूको ध्यान खिच्दै छ । ‘मेरो आफ्नै दराजमा धेरै लुगाहरू थन्किएका छन्, जुन आफूले लगाउँदिनँ, तर अरू कसैका लागि एकदमै उपयुक्त हुन सक्छ,’ उनी भन्छिन्, ‘कति नयाँ लुगा पनि साइज नमिलेर वा चित्त नबुझेर लगाइँदैन, एक–दुईपटक लगाएपछि यत्तिकै दराजमा राखिएको हुन्छ, त्यस्ता लुगाहरू बिक्री गर्न अनलाइन पसल सुरु गरेकी हुँ ।’
अहिले परिवार, आफन्त र साथीभाइका सेकेन्ड ह्यान्ड कपडा, जुत्ता, झोला एसेसोरिजहरू अनलाइनबाट बिक्री भइरहेको उनी बताउँछिन् । ‘जोकोहीले पनि राम्रो कन्डिसनका पुराना कपडाहरू बिक्री गर्न सक्नुहुन्छ,’ उनी भन्छिन्, ‘तर, मेरो प्लेटफर्म प्रयोग गरेबापत बिक्री गरेको मूल्यको १५ प्रतिशत कमिसन दिनुपर्छ ।’ कसैले आफ्ना पुराना कपडाहरू बिक्री गर्न चाहेमा फोटो खिचेर उनलाई पठाउनुपर्छ ।
उनले आफ्नो इन्स्टाग्राम पेजमा मूल्यसहित सामान बिक्रीका लागि राखिदिन्छिन् । उक्त सामान मन पराएर खरिद गर्न चाहनेले इन्स्टामै म्यासेज गर्छन् । सामान डेलिभरीका लागि गुडविल लजिस्टिकसँग उनले सहकार्य गरेकी छिन् । सामान खरिद गरेर भुक्तानीका लागि बैंक खातामा सीधै ट्रान्सफर, क्यास भुक्तानी र ई–सेवा तीनवटा विकल्प छन् ।
यसरी सुरु भयो
कोभिडका कारण भएको लकडाउनमा घरमै दराज सफा गरिरहँदा आफूले प्रयोग नगर्ने, तर लगाउन मिल्ने थुप्रै राम्रा लुगाहरू थुप्रिसकेको पाइन् उनले । कतिपय लुगाहरू एकपटक नलगाएका पनि थिए । सामाजिक सञ्जालमा उनले अरूले पनि यस्ता पुराना लुगाहरू खरिद–बिक्री भइरहेको उनलाई थाहा थियो । ‘मैले आफूले नलगाउने लुगाहरू किन बिक्री नगर्ने ? तत्कालै दिमागमा क्लिक भयो,’ उनी उत्साहित हुँदै सुनाउँछिन्, ‘सेकेन्ड ह्यान्ड लुगा प्रयोगमा आउँदा फेसनबाट हुने प्रदूषण पनि कम हुने, दराज पनि खाली हुने र अलि–अलि पैसा पनि कमाइ हुने भइहाल्यो ।’ सन् २०२० को जुनबाट सुरु गरेको उनको अनलाइन स्टोरबाट अहिलेसम्म २ सयभन्दा बढी ‘अर्डर एन्ड सेल्स’ भइसकेको छ ।
मिस नेपालले पनि किनिन्
उनको अनलाइन स्टोरबाट मिस नेपाल, २०२० नम्रता श्रेष्ठले पनि कपडा किनिसकेकी छिन् । मिसन नेपालको कुनै राउन्डका लागि लुगा फर लेसबाट कपडा खरिद गरेको उनले बताइन् । स्कुल–कलेजका विद्यार्थी, सेलेब्रिटीदेखि ब्युटी पेजेन्टका कन्टेस्टेन्टहरू अनलाइनको नियमित ग्राहक रहेको उनी सुनाउँछिन् । ‘ग्राहकहरू धेरै योङ हुनुहुन्छ, केटाहरूले अहिलेसम्म अर्डर गर्नुभएकोे छैन,’ उनी भन्छिन्, ‘केटीहरूको धेरै अर्डर आइरहेको हुन्छ ।’
उनको अनलाइनमा सेकेन्ड ह्यान्ड कपडा तथा सामानहरू बिक्री गर्नेहरू पनि बढ्न थालेका छन् । उनी भन्छिन्, ‘सुरुमा बिक्री गर्न निकै गाह्रो भएको थियो, अहिले हप्ताको ३ देखि ७ वटा अर्डर आइरहेका छन् ।’ यो नौलो सामाजिक उद्यमको अभ्यासले सफलता पाउनेमा उनी ढुक्क छिन् । ह्याप्पी कस्टमर सेक्सनमा थुप्रै सन्तुष्ट ग्राहकहरूको टेस्टिमोनियल पनि हेर्न सकिन्छ ।
यस्ता लुगा बिक्रीमा राखिन्छ
च्यातिएका र धेरै पुराना सामग्री उनी बिक्री गर्दिनन् । बिक्री गर्ने लुगाहरू राम्रो कन्डिसनका हुनुपर्छ । अझ एक–दुईचोटि लगाएर राखेका कपडाहरू प्राथमिकतामा पर्छन् । कतिपयले एकपटक पनि नलगाएका कपडाहरू बिक्रीका लागि पठाउने गर्छन् । ‘कपडा किनेपछि ठीक नहुन सक्छ, कलर मन नपर्न सक्छ, डिजाइन मन नपर्न सक्छ, त्यस्ता लुगाहरू दराजमा थन्क्याउनुभन्दा बिक्री गर्नु बेस हुन्छ,’ उनी भन्छिन् ।
अहिले इन्स्टाग्राम पेजमा बढी जाडोका बाक्ला लुगाहरू बिक्रीमा राखेको देखिन्छ । जोकोहीले पनि प्रयोग भएका लुगाहरूको फोटो ‘लुगा फर लेस’लाई पठाएपछि त्यो फोटो पेजमा अपलोड गरिन्छ । कम्पनीले नै उक्त कपडाहरू बिक्री तथा डेलिभरी गरेर निश्चित चार्ज काटेर विक्रेताको खातामा जम्मा गरिदिन्छ ।’ कसैलाई दराजमा थन्क्याएर राखेका कपडा वा एसेसोरिजहरू बिक्री गर्न चाहेमा आफूलाई सम्पर्क गर्न सक्ने उनले बताइन् ।