नेप्से परिसूचकले अघिल्लो रेकर्ड तोडेसँगै थप उचाइ छोएर दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ । सोमबार नेप्से ३७ दशमलव ४८ अंकले बढेर २ हजार ५ सय ६१ बिन्दुमा आइपुगेको छ । कारोबार रकममा समेत दिनदिनै नयाँ रेकर्ड बनिरहेको छ । आइतबार एकै दिन १० अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको बजारमा सोमबार भने १० अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको छ ।
२ सय ६ धितोपत्र तथा ऋणपत्रको कारोबार भएकोमा यस दिन ९४ वटाको मूल्य बढेको र ९७ वटाको मूल्य घटेको छ । ग्रामीण विकास लघुवित्त बैंक, प्रभु बैंक, सन्राइज बैंक, माछापुच्छ्रे बैंकको सबैभन्दा धेरैले मूल्य बढेको हो । ८ देखि करिब १० प्रतिशतसम्म मूल्यवृद्धि भएको हो ।
कारोबार रकमका आधारमा प्रभु बैंक, नेपाल लाइफ, नबिल बैंक, डिप्रक्स लघुवित्त विकास बैंकलगायत अग्रस्थानमा छन् । यी कम्पनीहरूको ३३ करोडदेखि ६२ करोड रुपैयाँसम्म सेयर कारोबार भएको हो । यस दिन प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई गत आवको नाफापछि ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताव गरेको जानकारी दिएको छ । कम्पनीको सेयर मूल्य भने ३० रुपैयाँले घटेर ८ सय ६७ रुपैयाँमा कारोबार भएको छ ।
आइतबारबाट कारोबारमा आएको चन्द्रागिरि हिल्सको सेयर मूल्य भने ९ रुपैयाँले बढेर १ सय ७३ रुपैयाँ पुगेको छ । कारोबारमा आएकामध्ये व्यापारमूलक, जलविद्युत्, निर्जीवन बिमा, उत्पादनमूलक र लघुवित्त समूहगत परिसूचक घटेका छन् ।
नेप्सेको मैनबत्ती चार्टले ह्यांगिङ म्यान आकृति बनाएको छ । बजार खुल्दा बिक्री चाप बढेको भए पनि अन्त्यमा बजार बढेर बन्द हुँदा यस्तो आकृति बन्छ । यसले बजार घट्ने संकेत गर्छ । तर, यो संकेत दरिलो भने मानिँदैन । सुनिश्चितताका लागि भने मंगलबारको पहिलो कारोबार हेर्नु सही हुन्छ ।
११ कम्पनीको कारोबार रोक्का
नेप्सेले आइतबारबाट ११ वटा सूचीकृत संस्थाको कारोबार रोक्का गरेको छ । यसरी कारोबार रोक्का हुनेमा जलविद्युत् कम्पनीहरूबाट नेपाल हाइड्रो, पञ्चकन्या माई, पाँचथर पावर, राधी विद्युत्, युनिभर्सल पावर, रैराङ हाइड्रो, युनियन हाइड्रोपावर कम्पनी छन् । बिमा समूहबाट गुराँस लाइफ इन्स्योरेन्स रहेको छ । विकास बैंक र लघुवित्तबाट कर्णाली विकास बैंक, कालिका लघुवित्त र नेसनल माइक्रो फाइनान्स रहेका छन् ।
कम्पनीहरूले धितोपत्र बोर्डमा आव ०७५/७६ को वार्षिक वित्तीय विवरण पेस नगरेको भन्दै कारोबार रोक्का गरिएको हो । हरेक आव सकिएको ६ महिनाभित्र साधारणसभा सक्नुपर्ने र वित्तीय विवरण बुझाउनुपर्ने व्यवस्था भए पनि कम्पनीहरूले वित्तीय विवरण नबुझाएको भन्दै कारबाहीमा परेका हुन् ।
यसअघि पनि लामो समयदेखि वित्तीय विवरण नै प्रकाशित नगरेका विशाल बजार र राष्ट्रिय बिमा कम्पनीको सेयर कारोबार रोक्का गरिएको थियो । यी दुई कम्पनीले अहिले पनि वित्तीय विवरण बुझाउन नसकेपछि कारोबार खुल्न सकेको छैन । वित्तीय विवरण नै प्रकाशित नगर्ने यी संस्थाको सेयर मूल्य भने करिब ३ हजारदेखि १६ हजार रुपैयाँसम्ममा
कारोबार भइरहेको थियो ।