माउन्ट केटुमा तीन आरोही सम्पर्कविहीन

आइतबार, २५ माघ, २०७७
डिजिटल संस्करण

पाकिस्तान र चीनको सीमा क्षेत्रमा अवस्थित विश्वकै दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहणमा गएका तीन आरोही सम्पर्कविहीन भएका छन् । आइसल्यान्ड, चिली र पाकिस्तानका तीन आरोही ३० घन्टादेखि हराइरहेको उनीहरूका म्यानेजर र अल्पाइन क्लब अफ पाकिस्तानले जनाएको छ । 

सम्पर्कविहीन भएका आरोहीहरूमा आइसल्यान्डका जोन स्नोरी, चिलीका जुएन पाब्लो मोहर र पाकिस्तानका मोहम्मद अली सद्पारा रहेका छन् । उनीहरू शुक्रबारदेखि हराइरहेको म्यानेजर छाङ दावा शेर्पाले विज्ञप्तिमार्फत जनाएका छन् । ‘उनीहरू सम्पर्कविहीन भएको ३० घन्टाभन्दा बढी समय भइसकेको छ । हामीले अहिलेसम्म उनीहरूबारे केही खबर पाउन सकेका छैनौँ,’ तीनैजना आरोहीका म्यानेजर छाङ दावा शेर्पाले भनेका छन्, ‘जिपिएस ट्रयाकरबाट पनि सम्भव भइरहेको छैन ।’

उनीहरूको खोजीका लागि पाकिस्तानी सेनाको हेलिकोप्टर प्रयोग गरिएको छ । यद्यपि, अहिलेसम्म उनीहरूको अवस्थाबारे थाहा हुन सकेको छैन । ‘पाकिस्तानी सेनाले हेलिकाेप्टरमार्फत उनीहरूको खोजी गरिरहेको छ । दुर्भाग्य, अहिलेसम्म उनीहरूको अवस्थाबारे कुनै जानकारी भने प्राप्त हुन सकेको छैन,’ शेर्पाले विज्ञप्तिमा भनेका छन्, ‘बेसक्याम्प र त्योभन्दा माथिको वातावरण पनि निकै खराब बनिसकेको छ ।’

एएफपीका अनुसार अल्पाइन क्लब अफ पाकिस्तानका सचिव कर्रार हइद्रीले पनि माउन्ट केटुमा आरोहीहरू हराइरहेको पुष्टि गरेका छन् । त्यसको एक दिनअघि मात्रै माउन्ट केटुमा बुल्गेरियन आरोहीको मृत्यु भएको थियो । त्यो दुःखद समाचारपछि फेरि पनि तीन देशका आरोही सम्पर्कविहीन भएको खबर आएको छ । 

बुल्गेरियाका आरोही यो सिजन माउन्ट केटुमा मृत्युवरण गर्ने तेस्रो आरोही हुन् । यसअघि स्पेनिस आरोहीको माउन्ट केटु आरोहणको क्रममा मृत्यु भएको थियो । यस्तै, गत जनवरीमा आरोहणअघि त्यहाँको वातावरणसँग घुलमिल हुन गएका रुसी–अमेरिकन आरोही एलेक्स गोल्डफार्बको पनि मृत्यु भएको थियो ।

माउन्ट केटु त्यही हिमाल हो, जहाँ गत महिना मात्रै १० नेपाली आरोहीले विन्टर सिजनमा सफल आरोहण गरी कीर्तिमान कायम गरेका थिए । नेपाली आरोहीभन्दा पहिले कसैले पनि विन्टर सिजनमा माउन्ट केटुको सफल आरोहण गर्न सकेका थिएनन् ।

माउन्ट केटुलाई विश्वकै निर्दयी हिमाल मानिन्छ । खराब बाटो र त्यस्तै मौसमका कारण विन्टर सिजनमा माउन्ट केटु आरोहणलाई निकै मुस्किल मानिन्छ । माउन्ट केटुमा प्रतिघन्टा दुई सय किलोमिटरको गतिमा हावा लाग्ने गर्छ भने तापक्रम माइनस ६० डिग्रीसम्म झर्ने गर्छ । यही कारण विश्वको सर्वाेच्च शिखर सगरमाथाभन्दा पनि माउन्ट केटुको आरोहण कम भएको छ ।
 

सुझावित समाचार