प्रधानमन्त्री र गृहमन्त्रीलाई पूर्वमन्त्री वर्षमानको चेतावनी– आन्दोलन सफल भएपछि गल्लीमा घिसार्छौँ

शनिबार, २४ माघ, २०७७
डिजिटल संस्करण

पूर्वमन्त्री एवं नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य वर्षमान पुन अनन्तले आन्दोलन सफल भएपछि प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापालाई गल्लीमा घिसार्ने चेतावनी दिएका छन् । दमौलीमा शनिबार तनहुँका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले ओली–थापाको अन्त्य इतिहासका तानाशाहहरूको जस्तै हुने बताए । 

‘ओली–थापा गुटको धम्कीले कोही डराएको छैन, हामी डराएका छैनौँ’, पुनले भने, ‘ओली र थापाजस्ता शासकहरू यो गल्लीमा लतारिन्छन्, पछारिन्छन् कसैले हेर्दैनन् । इतिहासमा कति शासकहरू लतारिए, कति मारिए हामीले धेरै देखेका छौँ । प्रतिस्धर्पा गर्ने भए जनतामा विचार लिएर आउनुस् । धम्की नदिनुस् ।’

ओली समूहले शुक्रबार राजधानीमा गरेको शक्ति प्रदर्शनमा गृहमन्त्री थापाले प्रचण्ड–माधव समूहलाई लक्षित गर्दै ‘मांसहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलको चिडियाखानामा थुन्ने’ अभिव्यक्ति दिएका थिए ।

सुझावित समाचार