विशेष प्रदेश कमिटी बनाएर पूर्वजनमुक्ति सेनालाई पार्टीमा समायोजन गर्छौँ : प्रचण्ड (भिडियोसहित)

बुधबार, २१ माघ, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वजनमुक्ति सेनालाई पार्टीमा समायोजन गर्ने गरी विशेष प्रदेश कमिटी बनाउने बताएका छन् । बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिको तेस्रो राष्ट्रिय भेलालाई बुधबार राजधानीमा सम्बोधन गर्दै प्रचण्डले बहिर्गमित तथा स्वैच्छिक अवकाशमा परेका पूर्वजनमुक्ति सेनालाई पार्टीमा समायोजन गर्ने बताएका हुन् । 

उनले जनमुक्ति सेनाका सबै तहका कमान्डरलाई पार्टीमा सम्मानजनक रूपमा समायोजन गर्ने नीतिगत निर्णय आफूले गरे पनि तल्लो तहसम्म उचित जिम्मेवारी पाए–नपाएको फलोअप नगरेर गल्ती गरिएको भन्दै आत्मआलोचनासमेत गरे । प्रचण्डले जनमुक्ति सेनाको सम्मानमा जनयुद्धका कमान्डरहरूलाई उपराष्ट्रपति, सभामुख तथा मन्त्री बनाएको स्मरण पनि गरे । 

प्रचण्डले आफू पहिलोपल्ट प्रधानमन्त्री हुँदा जनयुद्धमा ज्यान गुमाउनेलाई राष्ट्रिय सहिद घोषणा गर्ने र जनमुक्ति सेनालाई परिचयपत्रका साथ सम्मान गर्ने पहिलो निर्णय गरिएको भए पनि उक्त निर्णय लुकाइएको बताए । उनले जनयुद्धको घाइतेहरूलाई उपचार खर्च बढाउन, जनजीविकाका लागि राहत दिलाउन सरकारसँग पटक–पटक आग्रह गरेको पनि बताए ।  

प्रधानमन्त्री केपी ओलीले जनमुक्ति सेनालाई खरिद गर्न खोजेको भन्दै भ्रममा नपर्न आग्रहसमेत गरे ।

प्रचण्डले सबै बहिर्गमित जनमुक्ति सेनालाई एकै ठाउँमा ल्याउनुपर्ने धारणा पनि राखे । उनले केही महिनाभित्रै प्रतिगमनविरुद्धको आन्दोलन जित्ने र जितपछि जनमुक्ति सेनाको भावना र आवश्यकता पूरा गर्ने भएकाले नआत्तिन आग्रह पनि गरे । 

सुझावित समाचार