भनिन्छ छिमेकी र गाउँले भनेका जिउँदाको जन्ती र मर्दाका मलामी हुन् । तर, बझाङको जयपृथ्वी नगरपालिका– ११ पिठालेकमा भने त्यसको ठीक उल्टो भएको छ । यहाँका छिमेकी न विवाहमा जन्ती जान्छन् न त मर्दा मलामी नै ।
स्थानीय निर्वाचनपछि यहाँका गाउँलेमा राजनीतिक द्वन्द्व सिर्जना भएको छ । निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदका उम्मेदवार लडे थापा र तत्कालीन एमालेका उम्मेदवार केशव रोकायाबीच प्रतिस्पर्धा भएको थियो ।
कडा प्रतिस्पर्धाबीच कांग्रेसका उम्मेदवार लडे थापालाई पराजित गर्दै थोरै मतले तत्कालीन एमालेका उम्मेदवार केशव रोकाया विजयी भए । स्थानीय निर्वाचन भएको तीन वर्ष बितिसक्दा पनि पिठालेक गाउँका गाउँलेमा अझै निर्वाचनको प्रतिशोध मेटिएको छैन ।
स्थानीय निर्वाचनपश्चात् राजनीतिक प्रतिशोधका कारण हालसम्म पनि गाउँका छिमेकी एक–अर्काको विवाहमा जन्ती र मर्दा मलामीसमेत जान छोडेको जयपृथ्वी नगरपालिका– ११ पिठालेकका धनराज थापाले बताए ।
उनले भने, ‘निर्वाचन भएको लामो समय बितिसक्यो, हालसम्म पनि गाउँलेमा अझै प्रतिशोधको भावना मेटिएको छैन ।’ फरक राजनीतिक आस्थाकै कारण विवाहमा बाजा बजाउने मान्छे समेत अर्कै गाउँबाट ल्याउने गरेका छन् ।