सरकार छिट्टै कोमामा पुग्छ : नेता शर्मा

मंगलबार, २० माघ, २०७७
डिजिटल संस्करण

नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वगृह तथा ऊर्जामन्त्री जनार्दन शर्माले सरकार कोमामा जाने बताएका छन् । चितवनको भरतपुरमा संयुक्त एम्बुलेन्स चालक संघ नेपाल (ट्रेड युनियन संघ)को केन्द्रीय कार्यसमितिको स्थापना दिवस तथा तेस्रो वार्षिक साधारणसभामा शर्माले संविधानविरोधी सरकार छिट्टै एम्बुलेन्स चढेर अस्पतालको कोमामा पुग्ने बताएका हुन् । 

प्रतिनिधिसभा पुनस्र्थापना अहिलेको अवस्थामा संविधानको रक्षा भएको बताउँदै उनले केही नेताहरूले सत्ताको लोभमा संविधानविरोधी कार्यलाई रोक्ने आन्दोलनलाई गति दिनुभन्दा आन्दोलनलाई लगाम लगाएको बताए । तर, जनताले आन्दोलन लगाम लाउनेहरूलाई स्वीकार नगर्ने उनको भनाइ छ । उनले भने, ‘पदको दुरुपयोग गरेर नेपाली जनतालाई दुःख दिने, जनताको अधिकार खोसी राष्ट्र र जनतालाई घात गर्नेहरूविरुद्ध संयुक्त आन्दोलनका लागि सबैमा आह्वान गर्छु । प्रतिगमनविरुद्ध जस्तोसुकै आन्दोलनका लागि पनि तयार हुनुपर्छ ।’

उनले सम्पूर्ण एम्बुलेन्सचालकलाई सरकारले तलब दिएर राख्नुपर्नेसमेत बताएका छन् । स्वास्थ्य क्षेत्र मौलिक हकभित्र राखिएको भन्दै उनले निःशुल्क हुनुपर्नेमा जोड दिए । ‘सरकारले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ । त्यसका लागि सबै एम्बुलेन्सचालकलाई सरकारले जागिर दिएर जनतालाई निःशुल्क सेवा दिनुपर्छ,’ उनले भने, ‘अहिले एम्बुलेन्सचालकको पारिश्रमिक कम छ, रोजगारीको ग्यारेन्टी छैन, तर त्यसको अन्त्य संसद् पुनस्र्थापना गरेर हल गर्नुपर्छ ।’ 

एम्बुलेन्सचालककोे माग उचित पारिश्रमिक
साधारणसभामा सहभागी एम्बुलेन्सचालकहरूले उचित पारिश्रमिक नभएको गुनासो गरेका छन् । २४सै घन्टा खटिनुपरे पनि सेवा–सुविधा अत्यन्त कम रहेको केन्द्रीय अध्यक्ष नवराज लामिछानेले बताए । पाँचदेखि नौ हजारसम्ममा काम गर्नुपरेको बताउँदै उनले उचित पारिश्रमिक र रात्रिभत्ताका लागि राज्यस्तरबाटै व्यवस्था हुनुपर्ने माग गरे । उनले अत्यावश्यकीय सवारीका लागि अलग्गै ऐनको खाँचो रहेकोसमेत बताए । 

नयाँ पत्रिकाकर्मी पोख्रेलसहित नौ पत्रकार सम्मानित

संयुक्त एम्बुलेन्सचालक संघ नेपालले सभामा चितवनका नौजना पत्रकारलाई सम्मान गरेको छ । स्वास्थ्यको क्षेत्रदेखि सामाजिक क्रियाकलापमा योगदान पु¥याएको भन्दै संघले पत्रकारहरूलाई सम्मान गरेको हो । सम्मानित हुनेहरूमा नयाँ पत्रिकाकर्मी विवेक पोख्रेल, सिनर्जी एफएमका रामकान्त पौडेल, आभाष टिभीका कोमलचन्द्र भगत, सौराहा अनलाइनका राजेन्द्र आचार्य, कान्तिपुर दैनिकका रमेश पौडेल, नारायणी अनलाइनका राजु चौधरी, कायाकैरन दैनिकका विनोदबाबु रिजाल र सेतोपाटीका राजेश घिमिरे छन् । सम्मानित पत्रकारलाई भरतपुर महानगरकी मेयर रेणु दाहालले सम्मानपत्र प्रदान गरेकी थिइन् ।

सुझावित समाचार