नेसनल लाइफको १० प्रतिशत लाभांश पारित

सोमबार, १९ माघ, २०७७
डिजिटल संस्करण

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको ३२औँ वार्षिक साधारणसभाले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र त्यसका लागि आवश्यक करबापतको नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीका अध्यक्ष श्रीमती प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाले लाभांश प्रस्ताव पारित गरेको हो । 

साधारणसभामा अध्यक्ष श्रीमती सिंहले आव ०७५/७६ मा कम्पनीका सबै वित्तीय सूचकांकहरू सन्तोषजनक रहेको बताएकी थिइन् । उनले कुल बिमाशुल्क संकलन गत वर्षको तुलनामा २४.८६ प्रतिशतले वृद्धि भई ८ अर्ब ५ करोड रुपैयाँ पुगेको र ३५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको बताइन् ।

आव ०७५/०७६ को अन्त्यसम्ममा कम्पनीको कुल लगानी २७ दशमलव ९४ प्रतिशतले वृद्धि भई २६ अर्ब ८१ करोड रुपैयाँ पुगेको र कम्पनीको बिमा कोष गत वर्षको तुलनामा २५ प्रतिशतले वृद्धि भई गत असार मसान्तसम्ममा २६ अर्ब ९२ करोड रुपैयाँ पुगेको सिंहले जानकारी दिइन् । 

लगानी विविधीकरण गरी लामो अवधिको लगानी वृद्धि गर्ने प्रयासमा उल्लेखनीय सफलता हासिल भएको कम्पनीले जनाएको छ । यसै कारणले कोषको वार्षिक प्रतिफल दर ११.५३ प्रतिशत पुगेको र यसबाट भविष्यमा लगानी आयमा स्थिरता ल्याउन सहयोग पुग्ने कम्पनीले जनाएको छ । 

सुझावित समाचार