सय दिनमा १० करोड खोप

आइतबार, ११ माघ, २०७७
डिजिटल संस्करण

बाइडेनले अहिलेको संकटलाई सिजनल फ्लुभन्दा पनि जैविक आतंकवादको रूपमा लिन सुरु गरे भने सय दिनमा १० करोड खोप वितरण गर्ने लक्ष्य पूरा गर्न गाह्रो छैन 

एकातर्फ सुस्त र अव्यवस्थित खोप अभियान र अर्कोतर्फ कोभिड–१९ बिरामीको बढ्दो संख्या । यी दुवै समस्यासँग लड्न अमेरिकी राष्ट्रपति जो बाइडेनले पद सम्हालेको पहिलो सय दिनमा सय मिलियन (१० करोड) डोज लगाउने महत्वाकांक्षी योजना अघि सारेका छन् । अमेरिकामा डिसेम्बरको बीचदेखि खोप उपलब्ध हुन थालेको थियो । खोप अभियान सुरु हुन थालेपछि १.२३ करोड डोज खोप अमेरिकीहरूको पाखुरामा लागिसकेको छ । अर्थात्, दैनिक औसत तीन लाख ८४ हजार डोज लगाइएको छ । यो दरलाई तेब्बर बनाउने बाइडेनको लक्ष्य हो । यो लक्ष्य भेट्न असम्भव छैन, तर त्यसका लागि बाइडेनले कोभिड–१९ संकटलाई सिजनल फ्लुभन्दा पनि जैविक आतंकवादको रूपमा लिनुपर्छ । 

पहिलो त अमेरिकासँग देशका सबै ३३.१ करोड जनसंख्यालाई पुर्याउन सक्ने खोप उपलब्ध छैन । समस्या खोपको कमीको मात्र होइन । वितरण भइसकेकामध्ये पनि ३९ प्रतिशत खोप मात्र उपयोग हुन सकेको छ । आमजनसंख्यामा खोप पुर्याउन आवश्यक जटिल लजिस्टिकको व्यवस्थापन गर्नु सबैभन्दा ठूलो चुनौती हो । खोपलाई आशंकाको नजरले हेर्ने पनि थुप्रै छन् । उनीहरूको चिन्ता निराकरण गर्नु अर्को चुनौती हुनेछ । सौभाग्यवश ! शून्यबाट काम सुरु गर्नुपर्ने स्थिति छैन । सेप्टेम्बर ११ को आक्रमणपछिका केही महिनाभित्र अमेरिकाको संघीय सरकारले एन्थ्राक्सलगायतबाट हुन सक्ने जैविक आक्रमणसँग जुध्न औषधि र खोपको ठूलो भण्डारण नै तयार गरेको थियो ।

बाइडेन सरकारले कोभिड–१९ विरुद्ध यस प्रयासबाट सिक्न सक्छ । विगतको प्रक्षेपणका आधारमा सय दिनसम्म प्रतिदिन १० लाख मानिसलाई खोप लगाउने हो भने अमेरिकाभर चार सय खोप केन्द्रको आवश्यकता पर्छ । तिनमा एक लाखदेखि एक लाख ८४ हजारबीच कर्मचारीको आवश्यकता पर्छ । यीमध्ये १७ हजार स्वास्थ्यकर्मी खोप लगाउन दक्ष हुनुपर्छ । हाम्रो गणना सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको निर्देशिका तथा सान फ्रान्सिस्को र न्युजर्सीमा एक दशकअघि सञ्चालन भएको खोप पूर्वअभ्यासमा आधारित छ । हाम्रो अनुमान सबै अमेरिकी राज्यमा उपयुक्त नहुन सक्छ । विशेषतः पूर्वाधार र तालिमप्राप्त श्रमिकको अभाव भएको ग्रामीण क्षेत्रमा समस्या पर्न सक्छ । तर, यो अनुमानले गर्नुपर्ने कामको रूपरेखा प्रदान गर्छ । 

सय दिनसम्म प्रतिदिन १० लाख खोप वितरण गर्नका लागि ठूलो परिमाणमा संघीय लगानी आवश्यक हुन्छ । तर, अमेरिकाका राज्य तथा स्थानीय तहका सार्वजनिक स्वास्थ्य विभागहरूसँग यो स्तरमा खोप लगाउनका लागि पुग्ने गरी योग्य मानिस छैनन् । धेरै राज्यमा डाक्टर तथा नर्सले खोप लगाउँछन्, जब कि केहीमा तालिमप्राप्त फार्मेसिस्ट, चिकित्सक तथा फिजिसियन सहयोगीलाई पनि खोप लगाउन दिइन्छ । खोप लगाउने मानिस पुर्याउने हो भने अन्य स्वास्थ्यकर्मी, डेन्टिस्ट, इमर्जेन्सी स्वास्थ्य चिकित्सक तथा पारामेडिकहरूलाई पनि खोप दिन प्रयोग गर्न सकिन्छ । मागसम्म पनि समस्या छ । जैविक आतंकवादविरुद्ध आमजनसंख्यालाई खोप दिने योजना बनाउँदा सबै खोप लगाउन तयार रहेको मानिन्छ । तर, कोरोना भाइरसको खोपहरू चिकित्सा क्षेत्रका केही मानिसले समेत अस्वीकार गरेका समाचार आइरहेका छन् । खोप सम्बन्धमा रहेका आशंका निवारण गर्न राज्य तथा स्थानीय सरकारले सामुदायिक समूहसँग सहकार्य बढाउनुपर्छ । 

खोपको परिमाण वृृद्धि गर्दा कोभिड–१९ को सबैभन्दा बढी जोखिममा रहेका समूहलाई बेवास्ता गरेर खोप वितरण गरिनुहुँदैन । खोप दिँदा हाल स्वीकार गरिएको ६५ वर्षमाथिका प्राथमिकता समूहका मानिसमा ध्यान केन्द्रित गर्न छाड्न हुन्न । यो उमेरसमूहका मानिस चिन्न सजिलो पनि छ । घुम्ती क्लिनिकले अत्यावश्यक क्षेत्रमा काम गर्ने श्रमिकलाई खोप लगाउन सक्छ । यो जनसंख्यामा धेरै न्यून आय भएका र अल्पसंख्यक समूहका सदस्य रहेका छन् ।

स्वास्थ्य विभागहरूले खोप लगाउन चाहने प्रत्येक अमेरिकीलाई खोप प्रदान गर्नका लागि थप स्रोत निकासा गर्नुपर्छ । बाइडेनको १.९ ट्रिलियन डलरको कोरोना प्याकेजमा सामुदायिक खोप कार्यक्रमका लागि २० अर्ब डलर छुट्याइएको छ । यसमा खर्च हुने रकमले महामारीलाई नियन्त्रणमा राख्न सघाउने भएकाले कंग्रेसले यसलाई स्वीकृति दिनुपर्छ । सय दिनमा १० करोड डोज खोप वितरण अमेरिकी इतिहासमै सबैभन्दा महत्वाकांक्षी खोप अभियान हुनेछ । यसका लागि सबैको साथ र समर्थनको पनि आवश्यकता पर्नेछ । 

बोलिकी काउन्सिल अन फरेन रिलेसन्सको विश्व स्वास्थ्य कार्यक्रमका निर्देशक हुन्, नुजो जोन हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थका सह–प्राध्यापक हुन् र बक्कम महामारीविद् हुन् । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

सुझावित समाचार