रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा ४५ लाख ९८ हजार अनुदान रकम वितरण गरेको छ । नगरपालिकाले सहकारीमार्फत दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैयाँका दरले अनुदान उपलब्ध गराएको हो । अघिल्लो आर्थिक वर्षमा पनि यही नीतिअनुरूप झन्डै ३७ लाख अनुदान किसानलाई उपलब्ध गराएको थियो ।
अनुदानलाई साना किसानसम्म प्रत्येक वर्ष सहकारीमार्फत बिक्री गरेको दूधको परिमाणअनुसार अनुदान रकम दिइने गरिएको नगरप्रमुख वासुदेव घिमिरेले बताए ।
सहकारीले उपलब्ध गराएको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदनका आधारमा २० वटा दुग्ध उत्पादक सहकारीमा आबद्ध ३ हजार २ सय ५५ जना किसानले अनुदान रकम प्राप्त गरेका छन् । साना किसान लाभान्वित हुने भएकाले नगरपालिकाले उत्पादनका आधारमा अनुदान रकम दिने नीति लिएको नगर उपप्रमुख जगेश्वरदेवी चौधरील बताइन् ।
यो वर्ष सबैभन्दा बढी अनुदान वडा नम्बर १४ स्थित गौतमबुद्ध दूध डेरी दुग्ध चिस्यान केन्द्रले प्राप्त गरेको छ । केन्द्रले ९ लाख २६ हजार ८५२ रुपैयाँ प्राप्त गरेको छ ।
यस्तै, वडा नम्बर १४ कै टिकुलीगढ दुग्ध उत्पादक सहकारीले ५ लाख २० हजार ५४ रुपैयाँ, वडा नम्बर १२ को गोकुल दुग्ध उत्पादक सहकारीले ४ लाख ७० हजार ५२७ रुपैयाँ, वडा नम्बर ६ को पञ्चामृत दुग्ध उत्पादक सहकारीले ४ लाख २७ हजार ५५७ रुपैयाँ प्राप्त गरेको छ । दूधमा आत्मनिर्भर तिलोत्तमामा वार्षिक एक करोड लिटर दूध उत्पादन हुने गरेकोमा त्यसको झन्डै आधा दूध सहकारीमार्फत बिक्री वितरण हुने भएको छ ।