राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको बिउ रोपेर कसरी तानाशाह जन्मियो भन्दै प्रश्न उठाएका छन् ।
आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले परिवर्तनकारी शक्तिहरूलाई प्रश्न गरेका हुन् ।
प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनको सवाललाई लिएर भएका टिप्पणी परिवर्तनकारी भनिएका शक्तिहरूले नै गरेका भन्दै यस्तो प्रश्न गरे ।
‘हिजो लोकतन्त्रका संवाहक भन्नेहरू नै अहिले तानाशाही भएको आरोप लगाएका छन् । म सोध्न चाहन्छु– नेपालमा लोकतन्त्रको बिउबाट सर्वसत्तावाद कसरी जन्म्यो ? अधिनायकवाद कसरी जन्म्यो ? तानाशाह कसरी जन्म्यो ? उनले भने– अहिले तानाशाह, प्रतिगमन वा सर्वसत्तावाद भन्नेहरू प्रचण्ड भन्नुस्, माधवकुमार नेपाल भन्नुस् या बाबुराम भट्टराई भन्नुस् लोकतन्त्र र गणतन्त्रका संवाहक यिनीहरु नै होइनन् ? अनि यिनीहरूले रोपेको लोकतन्त्रको बिउबाट कसरी सर्वसत्तावाद जन्म्यो ? गलत बिउ रोपेपछि गलत नै फल्छ । यसको जवाफ उनीहरूले नै दिनुपर्छ ।
अध्यक्ष थापाले आफूहरू कांग्रेस पार्टीका संस्थापक बिपी कोइरालाको समाजवादी सिद्धान्तबाट निर्देशित रहेको पनि बताए ।
‘बिपी कोइरालाले नेपालको राष्ट्रियता र प्रजातन्त्रका लागि राजा सँगसँगै रहनुपर्छ भन्ने मान्यता बोक्नुभयो । हामीले त्यही सिद्धान्तलाई अंगीकार गरेका छौँ । हेरौँ कति सफल हुन्छौँ,’ उनले भने ।
अध्यक्ष थापाले राजनीतिक रूपले प्रधानमन्त्री ओलीको कदमले अहिलेको संविधान र व्यवस्थामाथि नै प्रश्नचिह्न खडा भएको टिप्पणी गरे ।
यद्यपि उनले ‘केपी ओलीको ज्यादतीबाट मुक्तिका लागि पनि ताजा जनादेशमा जानुपर्छ भन्दै’ ओलीको पक्षपोषण पनि गरे ।
केपी ओलीलाई हटाएर उनको प्रवृत्ति र कार्यशैली ब्युँताउन राजनीतिक दृष्टिकोणले उपयुक्त हुँदैन भन्दै उनले संसद् पुनर्स्थापित नभई निर्वाचनतर्फ आफूहरूको जोड रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले संसद् विघटन गराउनु संवैधानिक दृष्टिकोणले उचित भए–नभएकोबारे संविधानको अन्तिम व्याख्या गर्ने सर्वोच्च अदालतले नै निर्णय दिने उनले धारणा राखे ।
अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन सम्बन्धित संवैधानिक प्रावधान अस्पष्ट रहेको र त्यसलाई स्पष्टता आवश्यक रहेकोसमेत जिकिर गरे ।