हासिम अन्सारी उमेर समूहमै चलेका क्रिकेटर हुन् । मध्य क्रमका यी ब्याट्सम्यानले नेपाली युवा टोलीबाट सन् २०१२ मा अस्ट्रेलियामा भएको यू–१९ विश्वकप खेलेका हुन् । सिनियर टोलीबाट देशका लागि खेल्ने सपना लिएर क्रिकेटमा लागेका उनी त्यसपछि भने हराए । हराएभन्दा पनि उनी फेरि राष्ट्रिय टोलीमा फर्कन सकेनन् । राष्ट्रिय प्रतियोगितामा नियमितजस्तै देखिए । फ्रेन्चाइज प्रतियोगितामा पनि स्थान पाइरहे । तर, उनले देखेको सपना जस्तो सिनियर टोलीमा भने अझै पुग्न सकेका छैनन् ।
नेपाली युवा टोली अन्तर्राष्ट्रिय प्रतियोगितामै फरक छवी बनाएको टोली हो । सन् २००० मा श्रीलंकामा आयोजना भएको तेस्रो संस्करणदेखि नै यू–१९ विश्वकप खेल्न थालेको नेपाली युवा टोलीले धेरै बलिया टोलीलाई हराइसकेको छ । नेपालले विश्वकपमा हराएको टोलीमा दक्षिण अफ्रिकालगायतका छन् । त्यसैले पनि नेपाली युवा टोलीमा परेका खेलाडीलाई सिनियर टोलीको भविष्यका रूपमा हेरिने गरिन्छन् ।
अहिले पनि उमेर समूहको टोलीबाट खारिएर आएकै खेलाडीले सिनियर टोली धानेका छन् । उमेर समूहमा खेलेका खेलाडी सिनियर टोलीसम्म पुग्छन् नै । उनीसँगै अस्ट्रेलियामा विश्वकप खेलेर फर्किएका पृथु बास्कोटा, सागर पुन, भुवन कार्कीलगायत खेलाडीले सिनियर टोलीबाट लामै समय खेले ।
उनका लागि आफ्नो सपना पूरा गर्ने यो बाटो भने सम्भव भएन । यद्यपि उनीभित्रको यो सपना अझै मरेको छैन । सपना पछ्याउने प्रयास पनि उनले छाडेका छैनन् । कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा पनि नियमित अभ्यासमा भेटिएका उनी सिनियर राष्ट्रिय टोलीबाट खेल्ने सपना पूरा गर्न अझै केही वर्ष मिहिनेत गर्ने बताउँछन् । ‘मेरो सपना भनेकै सिनियर राष्ट्रिय टोलीबाट खेल्ने हो । धेरै प्रयास गरे पनि अहिलेसम्म सफल भएको छैन । तैपनि मिहिनेत जारी छ,’ उनी भन्छन्, ‘त्यसका लागि अझै केही वर्ष मिहिनेत गर्नेछु ।’
राष्ट्रिय टोलीबाट खेल्ने सपना पछ्याउँदा हासिमले अहिलेसम्म अरू कुनै पेसा व्यवसाय पनि सुरु गर्न सकेका छैनन् । उनका लागि अहिले क्रिकेट नै सबैथोक बनेको छ । उनी आफू सिक्ने मात्रै होइन, वरपरका इच्छुकहरूलाई पनि सिकाउने गर्छन् । उनकै खेल देखेर उनीबाटै सिकेका अरू युवा खेलाडी सिनियर राष्ट्रिय टोलीमा पुगिसकेका छन् ।
रसिद खान, पवन सर्राफ, अनिल साहलगायतले उनीसँगै क्रिकेट सिकेका हुन् । यी खेलाडीले नेपाली सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । यी खेलाडीले आफ्नो ‘आइडल’ मानेका हासिम भने त्यही सपनाका लागि मिहिनेत गर्दै छन् । ‘मैसँग सिकेका भाइहरू राष्ट्रिय टोलीमा पुग्दा मलाई खुसी लागेको छ । गर्वको महसुस हुन्छ,’ हासिम भन्छन्, ‘अब आफैँले भने त्यो सपना पूरा गर्न बाँकी छ । सपना पूरा हुनेमा आशावादी पनि छु ।’
नेपाली क्रिकेट लामो समयसम्म नेतृत्वविहीन हुँदा पनि केही प्रतिभावान् खेलाडीले अवसर नपाएको हासिम गुनासो गर्छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को तत्कालीन नेतृत्वको हस्तक्षेप र क्यान पदाधिकारीकै आन्तरिक किचलोका कारण नेपाली क्रिकेट केही वर्ष निलम्बनमा रह्यो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आफ्नो निर्देशनअनुसार निर्वाचन भएपछि मात्रै वर्तमान कार्यसमितिलाई मान्यता दिएर निलम्बन फुकुवा गरेको हो ।
हासिमले भनेजस्तै त्यो अवधिमा नयाँ प्रतिभा खोज्ने कुनै ठूला कार्यक्रम भएनन् । बन्द प्रशिक्षणमा सहभागी भएका सीमित खेलाडीबाट राष्ट्रिय टोलीको छनोट भए । हासिम भविष्यमा क्रिकेटको नेतृत्वले यसतर्फ ध्यान दिनुपर्ने सुझाब दिन्छन् । ‘क्यान नै निलम्बनमा हुँदा धेरै चिज ठप्प भए ।
क्रिकेटको विकास भएन । खेलाडीको प्रतिभा यत्तिकै मरेर गए,’ उनी भन्छन्, ‘त्यसको असर सिनियर राष्ट्रिय टोलीबाट खेल्ने सपना बोकेर वर्षाैंदेखि मिहिनेत गरिरहेको म जस्ता खेलाडीमा पनि पर्यो । भविष्यमा यस्तो अवस्था फेरि आउन दिनुहुन्न । यसतर्फ सबैले ध्यान पुर्याउनुपर्दछ ।’