आइसिसी लिग– २ : नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य

सोमबार, २ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं। आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत आफ्नो अन्तिम शृंखलाको खेलमा नेपालले ओमानसामु २८१ रनको लक्ष्य प्रस्तुत गरेको छ। सोमबार ओमानको अल अमिरातस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ– १ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको अन्तिम बलमा सबै विकेट गुमाउँदै २८० रन बनाएको हो।

नेपालका लागि तीन खेलाडीले अर्धशतकीय पारी खेले। कप्तान रोहितकुमार पौडेलले ८१ बलमा दुई छक्का र दुई चौकासहित सर्वाधिक ८० रन बनाए। दीपेन्द्रसिंह ऐरीले ६२ बलमा चार छक्का र तीन चौकाको मद्दतले ६९ रन जोडे। त्यस्तै, देव खनालले ६५ बलमा एक छक्का र चार चौकासहित ५७ रनको योगदान दिए।

ओमानका बलर शाह फैसलले पाँच विकेट लिएर नेपालको ब्याटिङमा अंकुश लगाए। जय ओदेद्राले तीन तथा समय श्रीवास्तवले दुई विकेट हात पारे।

लिग– २ को आफ्नो अन्तिम खेल खेलिरहेको नेपालका लागि यो प्रतिस्पर्धा निकै महत्त्वपूर्ण छ। शीर्ष ६ मा स्थान सुरक्षित गर्ने लक्ष्यमा रहेको नेपाललाई त्यसका लागि ओमानविरुद्ध जित निकाल्नैपर्ने दबाब छ।

सुझावित समाचार