नेप्सेले स्पष्ट दिशा समाउन सकेन

करिब आधा प्रतिशतले बढ्दा सबैजसो समूहमा झिनो सुधार

बिहिबार, २३ पुष, २०७७
डिजिटल संस्करण

नेप्से माथिल्लो तहमा रहँदा लगानीकर्ताहरू अन्योल देखिएका छन् । यही कारण नेप्सेले स्पष्ट दिशा समात्न सकेको छैन । बुधबार पनि नेप्से परिसूचक १३ अंक अर्थात् शून्य दशमलव ६ प्रतिशतले वृद्धि भएर २ हजार १ सय ७८ मा पुगेको हो । यस दिन व्यापार र जलविद्युत् समूहगत परिसूचकबाहेक सबैमा सुधार भएको छ । यद्यपि सबैजसो समूहमा झिनो सुधार देखिएको हो ।

विकास बैंक, निर्जीवन बिमा र लघुवित्त समूहगत परिसूचक १ प्रतिशत हाराहारीले मात्र बढेका छन् । कारोबार रकम उच्च नै भए पनि यस दिन कुनै एउटै कम्पनीमा ४०–५० करोडसम्म लगानी गर्ने प्रवृत्ति भने देखिएन । 

यस दिन ४ अर्ब ४२ करोड रुपैयाँको कारोबार भएको हो । सबैभन्दा धेरै रकमको कारोबार भएको नेपाल लाइफ इन्स्योरेन्सको २१ करोड ३३ लाख रुपैयाँको सेयर किनबेच भएको हो । यस दिन कारोबारमा आएका २ सय ५ धितोपत्र तथा ऋणपत्रमा १ सय २९ वटाको मूल्य बढेको र ५८ वटाको मूल्य घटेको छ । 

यस दिन कालिका माइक्रोक्रेडिट डेभलपमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ । कम्पनीले गत आवको लाभांश घोषणा गरिसकेको छैन ।

अघिल्लो वर्ष भने कम्पनीले १२ दशमलव ६३ प्रतिशत लाभांश दिएको थियो । गत आवको लाभांश घोषणा गरिनसकेका जनउत्थान लघुवित्त, स्वाभिमान लघुवित्तको सेयर मूल्य पनि करिब १० प्रतिशतले बढेको छ । अघिल्लो वर्ष भने कम्पनीहरूले क्रमशः २६ दशमलव ३२ प्रतिशत र २५ दशमलव २७ प्रतिशत लाभांश दिएका थिए । 

एकबराबर एक अनुपातमा हकप्रद जारी गर्न लागेको नारायणी डेभलपमेन्ट बैंकको २९ पुसमा बुक क्लोज रहेकाले पनि मूल्य करिब १० प्रतिशतले बढेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको १३ प्रतिशत बोनस सेयर समायोजनपछि पनि बुधबार मूल्य बढेको छ ।

समायोजनपछि ४ सय ७८ मा पहिलो कारोबार भएको बैंकको बजार बन्द हुँदा ७ रुपैयाँले मूल्य बढ्यो । यस दिन धेरै मूल्य गुमाउनेमा जोशी हाइड्रो, नेपाल हाइड्रो र घलेम्दी हाइड्रो अग्रस्थानमा छन् । यिनको सेयर मूल्य ४ देखि ५ प्रतिशतसम्म 
घटेको हो । 
 

See More On

सुझावित समाचार