२२ सय कटेको नेप्से, घटेर बन्द

टिएमएस राम्रोसँग नचलेको लगानीकर्ताको गुनासो

मंगलबार, २१ पुष, २०७७
डिजिटल संस्करण

बजार खुल्नेबित्तिकै २ हजार २ सयमाथि रहेको नेप्से कारोबारको अन्तिम समयसम्ममा भने अघिल्लो दिनको भन्दा घटेर बन्द भएको छ । बजार खुलेको केहीबेरमै घट्न थालेको नेप्से बढ्ने प्रयास सफल नभएपछि ६ अंकले घटेर बजार बन्द भएको हो । 

सोमबार नेप्से परिसूचक २ हजार ६९ बिन्दुमा आइपुगेको छ । यस दिन कारोबारमा आएकामध्ये विकास बैंक, जलविद्युत्, वित्त कम्पनी, निर्जीवन बिमा र ‘अन्य’ समूहगत परिसूचक मात्रै बढेका छन् । बाँकी समूह कारोबार सुरु हुँदा बढ्दो क्रममा रहे पनि अन्त्यमा घट्दै गएको हो ।    

यस दिन २ सय २ धितोपत्र तथा ऋणपत्रको कारोबार भएकोमा ७९ वटाको मूल्य बढ्यो, ९७ वटाको मूल्य घट्यो । जानकी फाइनान्स र किसान लघुवित्तको यस दिन करिब १० प्रतिशतले मूल्य बढेको छ ।  

 प्राइम कमर्सियल बैंकको १५ प्रतिशत बोनस सेयर समायोजन भएको छ । समायोजनपछि ४ सय ७ रुपैयाँ मूल्य कायम भएको बैंकको मूल्य ४ सय २८ सम्म पुगे पनि अन्त्यमा स्थिर रह्यो । 

यस दिन नेसनल माइक्रो फाइनान्सले २७ प्रतिशत लाभांश घोषणा गरेको सूचना दिएको छ । कम्पनीको २ हजार ४ सय ३२ रुपैयाँमा कारोबार भएकोमा २१ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश प्रस्तावपछि सेयरको मूल्य १ सय ४७ रुपैयाँले सस्तो भएको छ ।

काराबोर व्यवस्थापन प्रणाली (टिएमएसमा) समस्या 
बजार उच्च भएको समय धेरै लगानीकर्ता कारोबारमा उत्रिँदा नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) भने राम्रोसँग नचलेको लगानीकर्ताको गुनासो छ । नेप्सेले भने यसलाई सानोतिनो समस्या भनेको छ । ‘आज पनि ५ अर्ब ९६ करोड रुपैयाँ कारोबार भएको छ,’ नेप्सेका एक अधिकारीले भने, ‘सानोतिनो समस्या आएको होला, यसलाई ठूलो बनाउनुहुन्न ।’

लगानीकर्ता भने बजारमा समस्या नदेखिएको भए आज ८ अर्बसम्म कारोबार हुन सक्ने दाबी गर्छन् । ‘कारोबार आदेश दिन समस्या हुने, टिएमएस नचल्ने भयो,’ सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले भने, ‘समस्या नभएको भए ८ अर्ब रुपैयाँसम्म कारोबार हुन्थ्यो ।’ 

नेप्सेको सफ्टवेयर विकास गरेको वाइको प्रालिले भने बिहानको पहिलो १ घन्टामा २ लाखदेखि २ लाख ५० हजारसम्म प्रयोगकर्ताले स्विच गरेकाले पनि प्रणाली केही ढिला भएको बताएको छ । ‘साबिकका दिनमा एकैपटक अधिकतम १ लाखदेखि १ लाख ५० हजारसम्म स्विच हुन्थ्यो,’ वाइको प्रालिका प्रबन्ध निर्देशक दीपेश प्रधानले भने,‘ आज बढेकाले हो, यो सफ्टवेयरमा भन्दा पनि डाटा स्टोरेज क्षमता नभएका कारण समस्या आएको हो ।’ 

सफ्टवेयर खरिदका क्रममा भने प्रणालीले प्रतिसेकेन्ड २० हजारभन्दा बढी कारोबार म्याचिङ र प्रतिघन्टा ७ करोड २० लाख कारोबार गराउने दाबी गरिएको थियो । प्रधान सफ्टवेयरको क्षमता कम नभए पनि स्टोरेज क्षमता भने नेप्से, ब्रोकर सबैको बढाउनुपर्ने बताउँछन् ।

See More On

सुझावित समाचार