भारतले कोरोना भाइरसविरुद्धको दुईवटा भ्याक्सिनलाई एकैपटक मञ्जुरी दियो

आइतबार, १९ पुष, २०७७
डिजिटल संस्करण

भारतीय औषधि महानियन्त्रक (डिसिजिआई)ले देशभित्रै बनेको कोरोना भाइरस (कोभिड– १९) विरुद्धको दुईवटा भ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि मञ्जुरी दिएको छ । एस्ट्राजेनेका–अक्सफोर्ड युनिभर्सिटी र भारतकै एक औषधि उत्पादक कम्पनीले विकास गरेको भ्याक्सिनलाई महानियन्त्रकले अनुमति दिएको हो । 

डिसिजिआईका प्रतिनिधि बिजी सोमानीका अनुसार अक्सफोर्ड–एस्ट्राजेनेका र भारत बायोटेकको भ्याक्सिनलाई मञ्जुरी दिएको छ । एस्ट्राजेनेका सिरम इन्स्टिच्युड अफ इन्डियाले विकास गरेको हो भने भारत बायोटेकद्वारा कोभ्याक्स विकास गरिएको हो । उनले सिडिएससीओेको विशेषज्ञ समूहद्वारा गरिएको सिफारिसको आधारमा दुई भ्याक्सिनलाई आपतकालीन प्रयोग गर्न अनुमति दिएको बताए । यो भ्याक्सिन बिरामीलाई दुई डोज दिनुपर्ने हुन्छ । उनले भ्याक्सिन सतप्रतिशत सुरक्षित रहेको पनि दाबी गरे । उनले भने, ‘भ्याक्सिन लगाएपछि ज्वरो आउने, हल्का दुख्ने र एलर्जीको विषय छ, यो समस्या जुनसुकै भ्याक्सिन लगाउँदा पनि हुन्छ ।’ 

दुईवटा भ्याक्सिनले अनुमति पाएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिरम इन्स्टिच्युट र भारत बायोटेक कम्पनी र सम्पूर्ण देशवासीलाई बधाई दिएका छन् । उनले ट्विटरमार्फत भनेका छन्, ‘डिसिजिआईले भारतको सिरम इन्स्टिच्युट र भारत बायोटेकको भ्याक्सिनलाई हरियो झण्डा देखाएको छ । यसले भारतलाई कोभिडमुक्त देशतर्फ अघि बढ्ने पाइला मिलेको छ । हामी भारतवासी र वैज्ञानिकहरूलाई बधाई ।’
 
 

सुझावित समाचार