एयरलाइन्समा कोभिड–१९ को प्रभाव

सन् २०२० मा ७२ प्रतिशत यात्रु घट्दा, एयरलाइन्स कम्पनीले गुमाए १७ अर्ब

शुक्रबार, १७ पुष, २०७७
डिजिटल संस्करण

सन् २०२० मा कोरोना महामारीका कारण हवाई यात्रुको संख्यामा भारी गिरावट आएको छ । महामारीमा सीमानाका बन्द हुँदा विमानस्थल र एयरलाइन्स ठप्प नै भयो । गत ११ चैतदेखि १७ भदौसम्म पूर्ण बन्द भएको हवाई उडान पछिल्लो समय खुले पनि यात्रुको चाप बढ्न सकेको छैन । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२० जनवरीदेखि नोभेम्बरसम्म नेपालमा अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या गत वर्षको तुलनामा ७२ प्रतिशतले कमी आएको छ । यो अवधिमा अन्तर्राष्ट्रिय यात्रुको संख्या १० लाख ३९ हजार ३ सय २२ रहेको छ ।

अघिल्लो यो अवधिमा ४१ लाख ३८ हजार ४ सय ८२ यात्रुले सेवा लिएका थिए । त्यस्तै, आन्तरिक उडानतर्फ सन् २०१९ को तुलनामा ६४ प्रतिशतले यात्रु घटेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण्का महानिर्देशक राजन पोखरेलका अनुसार सन् २०२० को जनवरीदेखि नोभेम्बरसम्म १० लाख ३० हजार २ सय ९६ जनाले यात्रा गरेका छन् । जुन अघिल्लो वर्ष ३१ लाख ८८ हजार ४ सय ७९ जनाले यात्रा गरेका थिए । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को पछिल्लो तथ्यांकअनुसार सन् २०२० मा विश्वव्यापी रूपमा करिब ६० प्रतिशत हवाई सिट क्षमता अर्थात् करिब २ अर्ब ८९ करोड हवाई यात्रु घटेका छन् । जसले गर्दा संसारभरका वायुसेवाहरूले करिब ३ खर्ब ९१ अर्ब अमेरिकी डलर आम्दानी गुमाएका छन् । 

 नेपालका एयरलाइन्सले गुमाए १७ अर्ब  
कोभिड–१९ का कारण नेपालमा हवाई सेवा दिने कम्पनीहरूले १७ अर्बभन्दा बढी आम्दानी गुमाएका छन् ।  प्राधिकरणले प्रकाशन गरेको तथ्यांकअनुसार महामारीका कारण यात्रा अवरुद्ध भएकाले एयरलाइन्सहरूको आम्दानी १७ अर्ब ६४ करोड घटेको हो । प्राधिकरणका अनुसार कोरोनाका कारण नेपाल वायुसेवा निगमले अघिल्लो वर्षको तुलनामा ५ अर्ब न्यून आम्दानी गरेको छ । त्यस्तै, हिमालय एयरलाइन्सले २ अर्ब गुमाएको छ ।

आन्तरिक उडान गर्ने एयरलाइन्सहरूले १० अर्ब ६२ करोड आम्दानी गुमाएको महानिर्देशक पोखरेलले बताए । महामारीले नेपाल नागरिक उड्डयन प्राधिकरणको आम्दानी पनि यो वर्ष ८० प्रतिशतले घटेको छ । प्राधिकरणले सन् २०२० मा ५ अर्ब ६९ करोड आम्दानी घटेको छ । 

प्राधिकरणले आर्थिक वर्ष ०७६/७७ मा विमानस्थल विकास शुल्कबाहेक ८ अर्ब ३३ करोड १३ लाख आम्दानी गर्ने प्रक्षेपण गरेको थियो । तर, ३१.५५ प्रतिशतले घट्न गई ५ अर्ब ७० करोड ३१ लाख रुपैयाँ मात्रै आम्दानी गरेको थियो । विकास शुल्कतर्फ २ अर्ब २१ करोड २८ लाख रुपैयाँ प्रक्षेपण गरिएकोमा ६२ प्रतिशत घटेर ८४ करोड ६ लाख मात्रै आम्दानी भएको थियो । कोभिड–१९ का कारण चैतदेखि असारसम्मको आम्दानीमा मात्रै त्यो गिरावट आएको र चालू आर्थिक वर्षमा आम्दानी धेरै घट्ने अनुमान रहेको पोखरेल बताउँछन् । 

गत वर्ष पुँजीगत खर्चतर्फ ३४ अर्ब ४ करोड ३७ लाख र कार्य सञ्चालन खर्चतर्फ ४ अर्ब १८ करोड ८४ लाख गरी जम्मा ३८ अर्ब २३ करोड व्यय अनुमान गरेको थियो । तर, १८ अर्ब ३६ करोड ८३ लाख खर्च भएको छ । प्राधिकरणले चालू आर्थक वर्षमा २८ अर्ब ९२ करोड पुँजीगत खर्च र कार्य सञ्चालनतर्फ ३ अर्ब ६६ करोड ६६ लाख गरी ३२ अर्ब ५८ करोड ९३ लाख छुट्याएको छ । 

सुझावित समाचार