नेप्से लगभग स्थिर : बुक क्लोज मिति नजिकिए पनि बजारले वृद्धिको बाटो समातेन

बुधबार, १५ पुष, २०७७
डिजिटल संस्करण

सेयर बजारको कारोबारमापक सूचक नेप्से लगभग स्थिर देखिएको छ । बुधबार नेप्से ५ दशमलव ५७ अंकले बढेर २ हजार १२ बिन्दुमा पुगेको हो । लाभांशका लागि अधिकांशको बुक क्लोज मिति नजिकिए पनि बजारले वृद्धिको बाटो समात्न सकिरहेको छैन । बजार दिनभर उच्च उतारचढावमा देखिएको छ ।

२ हजार ३० बिन्दुसम्म पुगेको नेप्से ओरालो लाग्ने क्रममा २ हजार ९ सम्म आइपुगेको हो । बन्द हुँदा २ अंक जोडेको बजारमा अधिकांश समूहगत परिसूचक घटेर राता भएका छन् । लघुवित्त, निर्जीवन बिमा, उत्पादनमूलक र ‘अन्य’ समूहगत परिसूचकमा सुधार भएको हो ।

यस दिन कारोबार रकम सामान्य बढेको छ । कुल ४ अर्ब ९ करोड रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा आएका २ सय ९ धितोपत्र तथा ऋणपत्रमा ७३ वटाको मूल्य बढेर र १ सय ५ वटाको मूल्य घटेर कारोबार भएको हो । 

५ हजार ८ रुपैयाँमा कारोबार भइरहेको नागरिक लगानी कोषको ८२ दशमलव ८४ प्रतिशत हकप्रद सेयर समायोजनपछि २ हजार ७ सय ८४ रुपैयाँमा पहिलो कारोबार भयो । यद्यपि, बजार बन्द हुँदा कम्पनीको मूल्य १० प्रतिशतसम्म बढेर ३ हजार ६२ रुपैयाँसम्ममा कारोबार भएको छ ।

कम्पनीको सेयर मूल्य उच्च नै रहिरहने भन्दै लगानीकर्ता मूल्य घटेपछि सेयर खरिदमा लागेका हुन् । नारायणी डेभलपमेन्ट बैंक करिब १० प्रतिशतले नै मूल्य बढ्ने दोस्रो कम्पनी भएको छ । ३५ दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरेको नबिल बैंकको समेत बुधबार बुक क्लोज हुने भएको छ ।

लाभांश हात पार्ने अन्तिम दिनमा कम्पनीको ७ रुपैयाँले मूल्य बढ्यो भने सबैभन्दा धेरै रकमको कारोबार भयो । यस दिन नबिल बैंकको ५३ करोड १ लाख रुपैयाँको सेयर कारोबार भएको हो । लगानीकर्ताले सजिलै किनबेच गर्न सकिने सेयरको कारोबारमापक सूचक फ्लोट परिसूचक र ‘क’ वर्गका कम्पनीको कारोबारमापक सूचक सेन्सेटिभ परिसूचकसमेत घटेको छ । 

नेप्सेको मैनबत्ती चित्रहरूमा २ दिनदेखि साना डोजी (सुटिङ स्टारसहित) आकृति बनेको छ । यसले लगानीकर्तामा अन्योल कायम रहेको संकेत गरेको छ । त्यस्तै, नेप्सेको ७ दिने र २१ दिने मुभिङ एभरेज रेखा एक–अर्कासँग फेरि टाढिने सम्भावनामा छन् ।

७ दिने रेखाले २१ दिने रेखालाई तल पार्ने प्रयास कायमै छ । यो बिन्दुमा निकै ध्यान दिनुपर्ने देखिन्छ । यदि ७ दिने रेखामाथि लागेमा केही समय बजार थप बुलिस हुनेछ भने ओरालो लागेमा बजार बियरिस प्रवृत्तिमा आउने देखिएको छ ।   

See More On

सुझावित समाचार