‘इजी मनी’ले उचाल्दै नेप्से : सेयर कर्जामा २१ प्रतिशत वृद्धि, कर्जा कडाइका प्रयास तत्काललाई निष्प्रभावी

बुधबार, ८ पुष, २०७७
डिजिटल संस्करण

बैंक तथा वित्तीय संस्थाको सेयर धितोमा कर्जा लगानी वृद्धिले सेयर बजार वृद्धिमा टेवा दिइरहेको छ । बैंक तथा वित्तीय संस्थाले कात्तिकसम्ममा सेयर धितोमा ६१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । असार अन्त्यकोे तुलनामा कात्तिकमा २१ प्रतिशतले यस्तो कर्जामा वृद्धि भएको हो । असारमा बैंकहरूले यस्तो कर्जा ५० अर्बबराबर जारी गरेका थिए । 

बैंकहरूको कुल कर्जा लगानी भने मात्रै ५ प्रतिशतले बढेर ३४ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेका कारण एकै दिन ९६ अंक घटेको बजारले त्यसपछिको २ दिनमै १ सय २५ अंक जोड्यो । प्रतिनिधिसभा विघटनका कारण गुमाएको भन्दा थप २९ अंक नेप्सेले जोड्न सफल भएको छ । 

‘अहिले पहिलेजस्तो बैंकहरूले बोलाई–बोलाई सेयर धितोमा कर्जा दिइरहेका छैनन्,’ एक लगानीकर्ताले भने, ‘तर, अहिले पनि ८–९ प्रतिशत ब्याजदरमा कर्जा भने पाइने अवस्था छ ।’ सेयर कर्जाको ब्याजमा भने औसतमा ०.५ प्रतिशतले वृद्धि भइरहेको उनको भनाइ छ । 

राष्ट्र बैंकले सेयर धितो कर्जामा अप्रत्यक्ष कडाइ गर्ने प्रयास गरेको भए पनि यसको ठूलो प्रभाव बजारमा परेको देखिँदैन । विशेषतः राष्ट्र बैंकका नीतिहरू पनि केही लचिला नै छन् । ३ वर्षदेखि लगातार नोक्सानमा रहेका, ३ वर्षदेखि साधारणसभा नगरेका कम्पनीहरू निकै कम छन् । जति छन्, तिनमा पनि थोरै पुँजी भएका कम्पनीहरू छन् । 

तीमध्ये मूल्य उच्च रहेका यस्ता किसिमका कम्पनीको सेयर चलखेलकै लागि प्रयोग हुने भएकाले धितो राखेर कर्जा लिने झन्झटसमेत लगानीकर्ताले नगर्ने बजार स्रोतहरू बताउँछन् । त्यसैले पनि प्रभाव धेरै देखिँदैन । 

प्रतिव्यक्ति ५० लाखको अधिविकर्ष कर्जाको व्यवस्थाले समेत तत्काल ऋणीलाई समस्या नपर्ने देखिएको छ । थप कर्जा लिन यसले समस्या हुन सक्ने भए पनि चलिरहेको कर्जालाई कडाइ गरेको छैन । यो सीमामा ल्याउने अवधिसमेत असार २०७८ सम्म कायम रहेकाले कर्जा नवीकरणको समयमा मात्रै प्रभाव पर्ने देखिन्छ ।

 २ पुससम्ममा वाणिज्य बैंकहरूको कर्जा लगानी अघिल्लो साताको तुलनामा २२ अर्बले बढेर ३१ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ । तर, राष्ट्र बैंकको तथ्यांकअनुसार ३ पुससम्म बैंक तथा वित्तीय संस्थामा अझै १ खर्ब २४ अर्ब अधिक तरलता छ । यसले गर्दा बजारले अझै पनि ‘इजी मनी’को साथ पाउने देखिएको छ । 

कम्पनीहरूले लाभांश घोषणा गरिरहेकाले पनि बजारबाट औसत १० प्रतिशत हाराहारी प्रतिफल पाइने अवस्था रहेकाले यसले पनि बजारको वृद्धिलाई मलजल गरेकै छ । यद्यपि, उच्च मूल्यका कम्पनीहरूमा भने लगानीकर्ताले ध्यान दिन जरुरी छ । 

मंगलबार बजारमा ६ अर्ब ७४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएकामध्ये १ सय ७५ को मूल्य बढेको र १२ को मूल्य घटेको छ । कारोबारमा आएका सबै समूहगत परिसूचक बढेको छ । 

सुझावित समाचार