नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को चौथो संस्करण अब वैशाखमा हुने भएको छ । यसअघि १२ देखि १६ फागुनसम्म काठमाडौंमा हुने मिति तय गरिएको थियो । कोरोना महामारीका कारण फेस्टिभल निर्धारित मितिमा हुन नसक्ने आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जानकारी दिएको छ ।
प्रतिष्ठानले पूर्वनिर्धारित मितिमा फेस्टिभल गर्ने गरी विश्वभरका फिल्ममेकरबाट सहभागिताका लागि आवेदन खुला गरेको थियो । १ जुलाईदेखि ३० नोभेम्बरसम्म तोकिएको समयावधिमा ५२ देशका चार सय बढी फिल्मले सहभागिताका लागि आवेदन दिएको आयोजक संस्थाका अध्यक्ष केपी पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्राप्त फिल्ममध्येबाट छानिएका फिल्मको सूची ८ फागुनमा सार्वजनिक गरिनेछ । ‘महामारीका कारण फिल्ममेकर चाहेर पनि फेस्टिभलमा सहभागी हुन सक्ने अवस्था छैन । भर्चुअल रूपमा गर्ने विकल्प हामीलाई खास प्रभावकारी लागेको छैन,’ पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘केही समय कुर्दा पुरानै स्वरूपमा फेस्टिभल गर्न सकिन्छ भन्ने अपेक्षासहित केही महिना सारेर फेस्टिभल गर्न लागेका हौँ ।’
‘विश्वका कथाहरूको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मको विधा थप गरिएको थियो । ‘बेस्ट पान्डेमिक फिल्म’ नाम दिइएको विधामा विजेताले पाँच सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने अध्यक्ष पाठकले जानकारी गराए ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई भागमा बाँडेर प्रदान गरिने अवार्डमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतमबुद्ध अवार्ड अवार्ड प्रदान गरिनेछ । यो फिल्मले इन्टरनेसनल फेडरेसन अफ फिल्म सोसाइटिजको जुरीको तर्फबाट आइएफएफएस डन क्विजोट अवार्ड प्राप्त गर्नेछ ।
यसैगरी, अन्तर्राष्ट्रिय विधातर्फ सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलर राशिको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई पाँच सय डलर राशिको बागमती अवार्ड प्रदान गरिनेछ । साथै, नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई एक लाख नगद, उत्कृष्ट सर्ट फिल्मलाई ५० हजार नगद र सर्ट फिल्ममध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिनेछ । योबाहेक फिचर फिल्म विधातर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।