नेकपाका वरिष्ठ नेताद्वयसहित कांग्रेस र जसपाको ठहर : प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक, कांग्रेसले बोलायो सर्वदलीय बैठक

आइतबार, ५ पुष, २०७७
डिजिटल संस्करण

प्रतिनिधिसभा विघटन गरी मध्यावधि घोषणा भएपछिको अवस्थाका विषयमा छलफल गर्न कांग्रेसले सोमबार सर्वदलीय बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले सोमबार अपराह्न ४ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी सर्वदलीय बैठक बोलाएका हुन् । 

प्रतिनिधिसभा  विघटन भएपछिको अवस्थाका विषयमा आइतबार साँझ सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित कांग्रेस र जसपाका शीर्ष नेताहरूले अनौपचारिक छलफल गरेका छन् । 

बैठकले प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र जनताको पछिल्लो जनादेशको उल्लंघन भएको ठहर गरेको छ । छलफलमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाण, सांसद डा. मीनेन्द्र रिजाल र नेता रमेश लेखक थिए । 

छलफलका लागि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पनि कांग्रेस संसदीय दलको कार्यालयमा पुगेका थिए । प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता देव गुरुङ पनि छलफलमा सहभागी थिए । 

यस्तै, जसपाका तर्फबाट राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराई , नेता राजेन्द्र महताे र जितेन्द्र सोनल सहभागी थिए । छलफलले सरकारको असंवैधानिक कदमका विरुद्ध सबै दलहरूबीच सहकार्य गर्दै अघि बढ्ने निष्कर्ष निकालेको कांग्रेसका प्रमुख सचेतक खाणले जानकारी दिए । यसबारे थप छलफल गर्न कांग्रेसकै समन्वयमा सोमबार अपराह्न ४ बजे कांग्रेस पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बस्ने भएको छ ।

सुझावित समाचार