जिल्लामै रोकिए कांग्रेसका क्रियाशील सदस्यताको विवरण

शनिबार, ४ पुष, २०७७
डिजिटल संस्करण

कांग्रेसको क्रियाशील सदस्यताको विवरण जिल्लामै रोकिएको छ । केन्द्रीय समितिको २८ कात्तिकमा बसेको बैठकले मंसिर मसान्तभित्र पुराना क्रियाशील सदस्यहरूको नवीकरण र नयाँ क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाइसक्न निर्देशन गरेको थियो । तर, मंसिर बितिसक्दा पनि सदस्यताको विवरण बुझाउन चाहने जिल्लालाई समेत कांग्रेसले विवरण नपठाउन निर्देशन गरेको छ । 

क्रियाशील सदस्यताको विवरण सफ्टवेयरमार्फत जिल्लाबाटै भर्ने व्यवस्थाका लागि भन्दै सदस्यता जिल्लामै रोकेर राख्न निर्देशन गरेको हो । तर, धेरैजसो जिल्लामा सदस्यता नवीकरण र सदस्यता वितरणको काम भने सकिएको छैन । 

कांग्रेसले ७४ वटा जिल्लामा सदस्यता फारम पठाएको छ । तर, अहिलेसम्म अर्घाखाँची जिल्लाबाट मात्रै क्रियाशील सदस्यताको विवरण केन्द्रीय कार्यालयमा आइपुगेको छ । ‘सबैलाई पार्टीको सर्कुलरबमोजिम तयारी गर्न ताकेता गरिरहेका छौँ, तर २९ मंसिरको सरकारविरुद्ध प्रदर्शनको कार्यक्रमसमेत परेकाले केही ढिलाइ हुनुलाई स्वाभाविक मान्नुपर्छ,’ प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ पत्रिकासँग भने । 

बारा, सप्तरी र सिन्धुपाल्चोकमा भने पार्टीको आन्तरिक समायोजन नै नसकिएका कारण कांग्रेसले सदस्यताको फारम नै पठाएको छैन । विरोध कार्यक्रम र त्यसको पूर्वतयारीको असर सदस्यता वितरणमा परेकाले सदस्यताको विवरण केन्द्रमा आइपुग्न थप ८–१० दिन लाग्न सक्ने महामन्त्री पूर्णबहादुर खड्काले बताए । 

कांग्रेसले यसपटक सदस्यता नवीकरण र नयाँ सदस्यताको फारम केन्द्रमा नल्याउने भएको छ । ‘सबै फारम केन्द्रमा आउदैनन्, त्यसमध्ये चाहिने विवरण तयार भएर आउँछ,’ महामन्त्री खड्काले भने, ‘त्यसलाई सजिलो बनाउन पार्टीले यसपटक प्रविधिको प्रयोगलाई बढाएको छ ।’ 

कांग्रेस केन्द्रीय कार्यालयमा दीपक विष्ट नेतृत्वको इन्जिनियरहरूको समूहले ७७ वटै जिल्लाका लागि सफ्टवेयर तयार गरिरहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘सफ्टवेयर तयार भएपछि जिल्लाबाटै क्रियाशील सदस्यताको विवरण इन्ट्री गरिन्छ, त्यसकारण पनि विवरण पठाउन चाहने जिल्लाको समेत उतै रोकेका छौँ,’ उनले भने । सफ्टवेयरमा ७७ जिल्ला, १६५ निर्वाचन क्षेत्र, ३३० प्रदेश निर्वाचन क्षेत्र र ७५३ स्थानीय तहको सबडोमेन राखिने कांग्रेसले जनाएको छ ।

विवरण तयार भए पनि केन्द्रले तत्कालै नपठाउन भनेपछि जिल्लामै रोकेर राखेको चितवन कांग्रेस सभापति जितनारायण श्रेष्ठले बताए । ‘हामीले तयारी गरेको एक साता बित्यो, त्यसवेलै पठाउन लागेका थियौँ, तर केन्द्रबाटै अहिले नपठाउनू भनेपछि रोकेर राखेका छौँ,’ उनले भने । पाल्पा र गुल्मीले पनि सदस्यताको विवरण पठाउन चाहेका थिए । तर, केन्द्रीय कार्यालयले सबै फारम पठाउन नपर्ने भन्दै त्यसको विवरण सफ्टवेयरमा इन्ट्री गरेर पठाउने तयारी गर्न निर्देशन दिएको जनाएका छन् ।

अब बनेको क्रियाशील सदस्यताको सूची नै कांग्रेसको आगामी १४ औँ महाधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यहरूले वडा तहमा छानेका प्रतिनिधिहरूबाटै पालिका, प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट केन्द्रीय प्रतिनिधि चुनेर पठाउँछन् । त्यसैकारणले कांग्रेसमा क्रियाशील सदस्यता नवीकरण र वितरणका वेला नेताहरूबीच विवाद हुने गरेको छ । 

यसपटक हाल भएको संख्यामा शतप्रतिशत नयाँ क्रियाशील सदस्य थप गर्ने कांग्रेसको तयारी छ । त्यसकारण झन् धेरै विवाद हुने निश्चित छ । हाल कांग्रेसमा चार लाख ९८ हजार क्रियाशील सदस्य छन् । अब यति नै संख्यामा देशभरबाट थप हुने र अन्य राजनीतिक दलबाट आएकाहरूलाई समेत सदस्यता दिएपछि कांग्रेसका क्रियाशील सदस्यको संख्या झन्डै साढे दश लाख पुग्नेछ । 

२८ कात्तिकको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता पौडेल पक्षले महाधिवेशनअघि गर्नुपर्ने मुख्य काम नै क्रियाशील सदस्यताको टुंगो भएकाले पहिले त्यसलाई टुंग्याएर मात्रै महाधिवेशनको मिति तय गर्नुपर्ने अडान राखेको थियो । त्यहीकारण महाधिवेशनको मिति यथावत् राखेर क्रियाशील सदस्यता मंसिर मसान्तभित्र टुंग्याउने सहमति भएको थियो । 

मंसिरभित्रै सबै जिल्लामा क्रियाशील वितरणसमेत भइनसकेकाले बाँकी प्रक्रिया पूरा गरेर फागुनमै महाधिवेशन गर्ने सम्भावना टरेको छ । नेताहरूले अब महाधिवेशनको कार्यतालिका नै सारेर पूर्वतयारीमा लाग्नुपर्ने सार्वजनिक रूपमै अभिव्यक्ति दिन थालेका छन् । महामन्त्री डा.शशांक कोइरालाले समेत सार्वजनिक रूपमै फागुनमा महाधिवेशन सम्भव नभएको बताइसकेका छन् । अब बस्ने केन्द्रीय समितिमा महाधिवेशनबारे छलफल हुने र महाधिवेशनको कार्यतालिकासमेत परिवर्तन हुने नेताहरूको भनाइ छ । 

विवादबारे निरन्तर छलफल
कांग्रेसमा आन्तरिक विवादका विषयमा नेताहरूबीच निरन्तर छलफल चलिरहेको छ । गत बिहीबार पनि वरिष्ठ नेता पौडेलनिवास बोहराटारमा विवादबारे छलफल भएको थियो । अन्य राजनीतिक दलबाट आएका सदस्यहरूको समायोजनका विषयमा नेताहरूबीच अनौपचारिक छलफल भएको छ । छलफलमा उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, नेता प्रकाशमान सिंह, सहमहामन्त्री डा.प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल, महेश आचार्य, रमेश लेखकलगायत नेताहरू सहभागी थिए । 

पौडेल पक्षले पार्टीको विधानबमोजिम नै अन्य पार्टीबाट आएकाहरूको समायोजन हुनुपर्ने दोहोर्याएको छ । सहमतिका विभिन्न आधारमाथि नेताहरुबीच छलफल भएको छ । अन्य पार्टी परित्याग गरी आएका नेता कार्यकर्ताहरूको समायोजनका विषयमा छलफल सकारात्मक भएको महामन्त्री खड्काले बताए । ‘छलफल निरन्तर छ, हामीबीच समायोजनको एजेन्डामा लगभग सहमति भएको छ,’ उनले भने, ‘त्यसबारे थप छलफल भएपछि निर्णय हुन्छ ।’ उनले पार्टीको विधान, पद्धति र उपसभापति निधि संयोजकत्वको समायोजन समितिले यसअघि गरिसकेका निर्णयसमेतलाई आधार मानेर सहमतिको बिन्दु तय हुने बताए ।

सुझावित समाचार