शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द

मंगलबार, ३० मंसिर, २०७७
डिजिटल संस्करण
शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द

फाइल तस्वीर

सल्यानको कपुरकोट गाउँपालिका– ४ किमुचौरस्थित नेपाल राष्ट्रिय माविका आठजना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको छ । 

विद्यालयमा अध्ययनरत बालबालिकाबाट समुदायमा संक्रमण फैलिन सक्ने भन्दै मंसिर २८ गतेदेखि पुस १० गतेसम्मका लागि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ । 

मंसिर ७ गतेदेखि विद्यालय सञ्चालनमा आएको जानकारी दिँदै विद्यालयका निमित्त प्रधानाध्यापक डिल्लीकुमार डाँगीले १८ शिक्षकमध्ये प्रधानाध्यापकलगायत आठजना शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द गरेको बताए । 

अन्य सातजनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए ।

‘सबैको रिपोर्ट नेगेटिभ नआउँदासम्म विद्यालय सञ्चालन गर्न सक्ने अवस्था देखिएन,’ उनले भने, ‘संक्रमित शिक्षकमध्ये दुईजनामा लक्षणसमेत देखिएको छ ।’ 

विद्यार्थीको पनि कोरोना परीक्षण गराउन गाउँपालिकासँग समन्वय भइरहेको उनले बताए । यस विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म नाै सय ५० विद्यार्थी अध्ययनरत छन् । 

सामुदायिक विद्यालयका शिक्षकहरूमा धमाधम कोरोना देखिएपछि पठनपाठन अनिश्चित बनेको गाउँपालिकाको शिक्षा शाखा प्रमुख कृष्ण भण्डारीले बताए ।

विद्यालयले एक सूचना प्रकाशित गर्दै विद्यार्थीमा कोरोनासँग मिल्दोजुल्दो कुनै पनि लक्षण या चिह्न देखिएमा कपुरकोट गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न पनि अनुरोध गरेको छ । मावि किमुचौरले तीन सिफ्टमा कक्षा सञ्चालन गर्दै आएको थियो ।

यसअघि कपुरकोटको दानबाङस्थित सरस्वती प्रावि र कालिका माविका एक–एक शिक्षक संक्रमित भएपछि पठनपाठन ठप्प भएको थियो ।

लकडाउनसँगै बन्द भएका विद्यालय तिहारपछि सुरक्षा सावधानी अपनाएर खुलेका थिए, तर शिक्षकहरू नै संक्रमित भएपछि अभिभावक र विद्यार्थीसमेत संक्रमणको जोखिममा परेका छन् ।

सुझावित समाचार