अमेरिकामा कोरोना भाइरसविरुद्धको भ्याक्सिन ह्वाइटहाउसका कर्मचारीलाई लगाउँदै आजदेखि सुरु गर्ने भनिए पनि अन्तिम समयमा आएर पूर्ववत् निर्णय परिवर्तन भएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्ववत् आफ्नै निर्णय परिवर्तन गर्दै ह्वाइटहाउसका कर्मचारीले अब अन्तिममा मात्र भ्याक्सिन पाउने बताएका छन् । ‘अति आवश्यक परे मात्र राष्ट्रपति कार्यालयका कर्मचारीले भ्याक्सिन पाउनेछन्, पहिलो प्राथमिकता भनेको जनता हुन्,’ राष्ट्रपति ट्रम्पले भनेका छन् । ट्रम्प प्रशासनले गत आइतबार भ्याक्सिनसम्बन्धी जानकारी दिँदा ह्वाइटहाउसका कर्मचारी नै पहिलो प्राथमिकतामा रहने जनाएको थियो । तर, आज मात्रै ट्रम्पले ट्विटरमा ह्वाइटहाउसका कर्मचारीले पछि मात्र खोप पाउने जानकारी दिएका छन् । ‘यदि कसैलाई जरुरी नभएको अवस्थामा कर्मचारीले पछि मात्र खोप पाउनेछन्,’ राष्ट्रपति ट्रम्पको ट्विटरमा लेखिएको छ । अमेरिकी वैज्ञानिकहरूका अनुसार फाइजर भ्याक्सिनले ९५ प्रतिशतसम्म काम गर्नेछ । अमेरिकाको फुड एन्ड ड्रग्स एड्मिनिस्ट्रेसन (एफडिए)ले फाइजर÷बायोन्टेक कम्पनीको भ्याक्सिनको क्षमता अन्य भ्याक्सिनको तुलनामा सुरक्षित भएको जनाएको छ ।
अमेरिकामा सुरुवातमा ३० लाख भ्याक्सिन ५० राज्यमा वितरण गरिनेछ । सोमबार भ्याक्सिनको पहिलो खेप निकालिएको छ । स्वास्थ्यकर्मी तथा वृद्धवृद्धालाई पहिलो चरणमा खोप दिइएको अमेरिकन एजेन्सीहरूले उल्लेख गरेका छन् । ‘अहिले हामी पहिलो चरणमा ३० लाख डोज भ्याक्सिन पु¥याउने लक्ष्यमा छौँ,’ भ्याक्सिन वितरणको जिम्मा दिएका जनरल गुस्ताव पर्नाले भने ।
जनवरीदेखि सुलभ
आजदेखि नै ५० राज्यमा भ्याक्सिन वितरण हुने भनिए पनि आगामी जनवरीदेखि मात्रै सहज हुने जनरल पर्नाले बताएका छन् । ‘हामीहरूले सोमबार नै एक सय ४५ स्थानमा भ्याक्सिन पु¥याउने लक्ष्य राखेका छौँ,’ उनले भने, ‘मंगलबार यो चार सय २५ स्थान तथा बुधबार थप ६६ स्थानमा भ्याक्सिन पुग्नेछ ।’ जनरल पर्नाले भ्याक्सिन सुरक्षित तरिकाले नै बन्दोबस्त गरेको बताएका छन् ।
अमेरिकको सबै क्षेत्रमा भ्याक्सिन नपुग्दासम्म काम नरोकिने जनरल पर्नाको भनाइ छ । उनले भने, ‘अहिले भ्याक्सिनको अवस्था निकै राम्रो छ, सबै राज्यमा भ्याक्सिन पु¥याउने लक्ष्य हो ।’ बेलायत, क्यानडा, बहराइन तथा साउदी अरेबियामा फाइजर भ्याक्सिन प्रयोगको अनुमति पाइसकेको छ । अमेरिकाले १० करोड डोज भ्याक्सिन अर्डर गरेको छ । अमेरिकालाई तत्काल १५ करोड डोज भ्याक्सिन आवश्यक रहेको एजेन्सीहरूले बताएका छन् । अमेरिकाको कुल जनसंख्या ३३ करोड छ ।
इजरायलमा २७ डिसेम्बरदेखि भ्याक्सिनेसन
एसियन राष्ट्र इजरायलले २७ डिसेम्बरबाट भ्याक्सिनेसन सुरु गर्ने भएको छ । भ्याक्सिन प्रयोग प्रोजेक्टका प्रमुख तथा स्वास्थ्यमन्त्री युली एडलिस्टनले सबै प्रक्रिया पूरा भइसकेको बताएका छन् । उनी भन्छन्, ‘अहिले देशभर भ्याक्सिन पु¥याउने लक्ष्यका साथ अगाडि बढिरहेका छौँ, सम्भवतः २७ डिसेम्बरदेखि खोप सुरु भइसक्नेछ ।’
इजरायलमा पहिलो चरणमा ६० हजार व्यक्तिले खोप पाउन सक्छन् । गत साता मात्र फाइजर भ्याक्सिनको पहिलो अर्डर इजरायलमा पुगेको थियो । यहाँ तीन लाख संक्रमित छन् । कोभिड–१९ का कारण इजरायलमा दुई हजार नौ सय ९० जनाको निधन भएको छ ।
–एजेन्सीहरूको सहयोगमा