उखु बिक्रीबापतको रकम चिनी मिलले नदिएपछि सर्लाहीका किसानले काठमाडौंकेन्द्रित आन्दोलन थालेका छन् । उखु किसान संघर्ष समिति सर्लाहीको नेतृत्वमा आइतबार दिउँसो माइतीघर मण्डलमा किसानले आन्दोलन सुरु गरेका हुन् ।
सर्लाही, रौतहट र नवलपरासीबाट आइतबार बिहान थप किसान काठमाडौंका लागि हिँडेकाले सोमबारको आन्दोलनमा संख्या बढ्ने संघर्ष समितिका अध्यक्ष रामस्वार्थ राय बताउँछन् । उनका अनुसार देशभरका ६ वटा चिनी मिलबाट ९० करोड रुपैयाँ बक्यौता उठाउन बाँकी छ ।
बारम्बार पहल गर्दा पनि रकम नउठेपछि किसानले सरकारलाई पटक–पटक जानकारी नदिएका होइनन् । तर, सरकारले पनि बक्यौता रकम उठाउन बेवास्ता गरेका कारण आन्दोलनमा उत्रिनुपरेको राय बताउँछन् । यसपटकको आन्दोलन निर्णायक हुने उनको भनाइ छ । र, सबै रकम प्राप्त नभएसम्म काठमाडौं नछाड्ने अडानमा छन्, किसान ।
‘आइतबारदेखि आन्दोलन सुरु गरेका छौँ । सोमबार दिउँसो ११ बजेदेखि ठूलो संख्यामा किसान भेला भएर आन्दोलन हुन्छ,’ रायले भने, ‘त्यो आन्दोलनबाट पनि सरकारले कुनै चासो नदिए त्यसपछि के गर्ने भनेर सल्लाह गरी कठोर निर्णय लिन्छौँ ।’ यसपटक आफ्नो रकम लिन सिंहदरबार घेराउदेखि सडक जामसम्म गर्न तयार रहेको रायको भनाइ छ । ‘पैसा पाउन के गर्नुपर्ने हो, हामी त्यही गर्छौँ,’ उनले भने ।
यसपटक उनीहरूको माग रकम प्राप्ति मात्र छैन, मिल उद्योगीलाई कारबाही हुनुपर्ने अडानमा पनि छन् । ‘उखुको पैसा दिने हो भने घर फिर्ता जान्छौँ भन्ने पहिला हाम्रो माग थियो, तर अबको माग भनेको पैसा दिनुपर्यो । र, जुन नेताले दलाली गरेको छ, भ्रष्टाचार गरेको छ, उसलाई कारबाही हुनुपर्यो । अनि मात्र हामी फिर्ता जान्छौँ,’ रायले भने ।
काठमाडौंकेन्द्रित आन्दोलनका लागि किसानको संख्या थोरै भयो भनेर नहेप्न पनि उनले आग्रह गरे । गत वर्ष माघमा सोही संघर्ष समितिको नेतृत्वमा महालक्ष्मी सुगर मिलमा करिब पाँच हजार किसानले घेराउ गरेको स्मरण गराउँदै उनले भने, ‘एउटा मिल घेर्न पाँच हजार किसान उतारेका थियौँ । काठमाडौं घेराउ गर्नुपर्यो भने जति पनि किसान ल्याउन सक्छौँ । त्यसैले हाम्रो माग अहिले नै सुनुवाइ गरेको राम्रो हुन्छ ।’
आन्दोलनमा सहभागी सर्लाही रामनगर गाउँपालिकाका किसान रामबडारी यादवले चार वर्षदेखि धनकौल गाउँपालिकास्थित अन्नपूर्ण सुगर मिलबाट भुक्तानी पाएका छैनन् । ‘चार वर्षदेखि एक लाख रुपैयाँ भुक्तानी पाउन सकेको छैन । माग्दा दिन्छु, दिन्छु मात्र भन्छन्, तर दिएको छैन,’ उनले भने, ‘पोहोर त मिल नै बन्द गरेर उखु पनि लिएन । हाम्रो उखु लगेर चिनी बनाएर मिलले बेचिसकेको छ ।’
सर्लाहीकै किसान रामकल्याण महतोले उखु बिक्री गरेको पैसा पाउन आन्दोलनको विकल्प नभएको बताए । ‘पैसा माग्दा–माग्दा धेरै दुःख पाइयो । जग्गा बन्धकी राखेर उखु लगाउँदाको ऋण तिर्नुपरेको छ,’ उनले भने, ‘त्यसैले पैसा उठाउन काठमाडौं आएका हौँ । यहाँबाट पैसा नलिई जाँदैनौँ ।’
किसानहरूले गत कात्तिकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई भेटेर बक्यौता रकम उठाइदिन आग्रह गरेका थिए । रकम नउठे आन्दोलनमा उत्रिने जानकारी उनीहरूले त्यतिवेलै दिएका थिए । २९ कात्तिकसम्म रकम उठाइदिन उनीहरूले मन्त्री भट्टसँग आग्रह गरेका थिए । त्यसको एक महिना बितिसक्दा पनि रकम नपाएपछि निर्णायक आन्दोलनमा उत्रिनुपरेको उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले बताए ।
किसानको ९० करोड बक्यौता
मुलुकभरमै सबैभन्दा बढी उखु खेती सर्लाहीमा हुन्छ । त्यसैले सर्लाहीकै किसान आन्दोलनको अग्रपंक्तिमा छन् । संघर्ष समिति अध्यक्ष रायका अनुसार देशभरका किसानको करिब ९० करोड रुपैयाँ बक्यौता छ । अन्नपूर्ण र महालक्ष्मी सुगर मिलमा मात्रै सर्लाहीका किसानको ३६ करोड रुपैयाँ बक्यौता छ ।
यस्तै, गत वर्षदेखि बन्द रहेको रौतहटको अन्नपूर्ण सुगर मिलबाट ३० करोड रुपैयाँ उठाउन बाँकी छ । नवलपरासीको लुम्बिनी चिनी मिलबाट १० करोड, इन्दिरा सुगर मिलबाट आठ करोड र बागमती खाँडसरी चिनी मिलबाट ४० लाख रुपैयाँ किसानले पाएका छैनन् ।
सरकारी तथ्यांक भने ६९ करोडको मात्र
सरकारी तथ्यांकले भने ६९ करोड रुपैयाँ मात्र बक्यौता रहेको देखाएको छ । उखु किसानले भुक्तानी नपाएको गुनासोपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी मिलका सञ्चालकलाई बोलाएर ८ मंसिरमा छलफल गरेको थियो । त्यस छलफलमा ६९ करोड मात्र भुक्तानी दिन बाँकी देखिएको मन्त्रालयको दाबी छ । लुम्बिनी चिनी मिलले आठ करोड ४१ लाख, इन्दिरा सुगर मिलले चार करोड ७० लाख, अन्नपूर्ण सुगर मिलले २९ करोड २० लाख र श्रीराम सुगर मिलले २६ करोड ७७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको मन्त्रालयको भनाइ छ ।
बर्सेनि घट्दै उत्पादन
उखु तराईका किसानको सबैभन्दा आकर्षक नगदेबाली हो । तर, पछिल्ला वर्षमा चिनी मिलबाट भुक्तानी पाउन मुस्किल हुन थालेपछि किसान अन्य खेतीमा लाग्न बाध्य भएका छन् । सोही कारण गत वर्ष एक करोड ४० लाख क्विन्टल उखु मात्र क्रसिङ भएको राष्ट्रिय उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए ।
‘अघिल्लो वर्ष दुई करोड आठ लाख क्विन्टल उखु क्रसिङ भएको थियो,’ उनले भने, ‘यो तथ्यांकको तुलनामा गत वर्ष ६५ लाख क्विन्टल उखु कम उत्पादन भएको देखिन्छ । यस वर्ष उत्पादन झन् कम हुन्छ ।’ उत्पादन घटेका कारण गत वर्ष एक लाख ६० हजार मेट्रिकटन मात्र चिनी उत्पादन भएको थियो । जब कि स्वदेशी उद्योगीले दुई लाख २० हजार टनसम्म चिनी उत्पादन गर्दै आएका थिए । मुलुकभर करिब दुई लाख ५० हजार टन चिनीको माग छ ।