आठौँ राष्ट्रिय खेलका गुणस्तरहीन संरचना भत्किन थाले

मंगलबार, २३ मंसिर, २०७७
डिजिटल संस्करण

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगन्जमा निर्माण भएका अधिकांश संरचना भत्किन थालेका छन् । पौडीपोखरीको प्यारापिटको प्लास्टर उप्किएको छ । पौडीपोखरीको वरिपरि लगाएको टायल फुटेर उप्किएको छ । 

पौडीपोखरीको प्यारापिटमा लगाइएको सिसा पनि फुटेर खसेको छ । भुइँमा खसेको सिसा अहिले पनि उठाइएको छैन । निर्माण कम्पनीले कमसल काम गरेकाले पौडीपोखरीको प्यारापिट र पौडीपोखरीको वरिपरि लगाइएको टायल भत्किएको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले बताए । पौडीपोखरीको दक्षिणतर्फ बनाउनुपर्ने स्क्रिन बोर्ड निर्माण पूरा नगरी निर्माण कम्पनीले भुक्तानी लिएको उनले बताए । 

प्याराफिटको सिसा खस्यो, प्लास्टर उप्कियो
प्यारापिटको तल लगाइएको सिसा हावा लागेर खसेको छ । प्यारापिटको प्लास्टर झरेको छ । पानीको निकास राम्रो नहुँदा प्यारापिटको सिँढीमा पानी चुहिन थालेको छ । ‘पौडीपोखरीको वरिपरि बिच्छ्याइएको मार्बल उप्किएका छन्,’ उनले भने, ‘मर्मतका लागि निर्माण कम्पनीलाई बोलाएका छौँ । तर, राम्रो रेस्पोन्स भएको छैन । यसको जानकारी राष्ट्रिय खेलकुद परिषद्लाई पनि गराइसकेका छौँ ।’

मुलुकमै पहिलोपटक नेपालगन्ज रंगशालामा रोपिएको बरमुडा ग्रास (घाँस) सुकेर नष्ट भएको छ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोेगिताका लागि भारतको कोलकाताबाट ल्याएर रोपेको घाँस सुकेर नष्ट भएको हो । जसको लागत करिब ४० लाख रुपैयाँ रहेको छ । 

लकडाउनपछि कुनै प्रतियोगिता हुन नसक्दा घाँस बढ्न नपाई सुकेर नष्ट भएको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले बताए । उनले घाँसमा पटक–पटक सिँचाइ गर्दासमेत दुबो नमौलाएको बताए । 

‘घाँसको संरक्षण गर्न पटक–पटक सिँचाइ हुँदै आएको छ, तर बरमुडा घाँस सुक्दै गएको छ । अन्य झार उम्रिएर बरमुडा ग्रासलाई जितिसक्यो,’ उनले भने । आठौँ राष्ट्रिय प्रतियोगिताका वेला हरियो रहेको उक्त रंंगशालाको घाँस सुकेर नष्ट भइसकेको उनले बताए । उनले मैदानको अधिकांश ठाउँमा बरमुडा ग्रास सुकेर विलीन भइसकेको जानकारी दिए । 

उनले पानी सिँचाइ गर्दा पनि बरमुडा ग्रास नपलाएपछि परीक्षणका लागि युरिया मल छर्केर पानी सिँचाइ गरिएको स्पष्ट पारे । घाँस जोगाउन हरसम्भवको प्रयास गर्दासमेत कुनै सीप नचलेको उनको भनाइ छ । ‘परीक्षणका लागि युरिया मल हालेर पानी सिँचाइ गरेका छौँ । यसले पनि भएन भने कृषि ज्ञान केन्द्रका प्राविधिकलाई बोलाएर माटो परीक्षण गर्न लगाउँछौँ,’ उनले भने, ‘प्राविधिकले दिएको राय–सुझाब अनुसार अगाडि बढ्ने योजनामा छौँ ।’

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले प्रमाणित गरेको घाँस नेपालका लागि नयाँ प्रयोग भएको हो । घाँस रोप्नका लागि काभ्रेबाट प्राविधिक ल्याइएको थियो । तर, रोपेको एक वर्ष बित्न नपाउँदै घाँस सुकेर नष्ट भएको छ । ‘महँगो मूल्य हालेर लगाइएको घाँस वर्षदिन नबित्दै सुकेर नष्ट भएको छ । यसले राज्यको लाखौँ रुपैयाँ खेर गएको छ,’ एक प्रत्यक्षदर्शीले भने । घाँस सुकेर नष्ट भएपछि रंगशाला कुरूपजस्तै देखिन थालेको छ ।

See More On

सुझावित समाचार