चितवनमा कोरोना संक्रमण र मृत्युदर घट्यो

मंगलबार, २३ मंसिर, २०७७
डिजिटल संस्करण

साउन, भदौ र असोजमा निरन्तर उकालो लागेर कात्तिक महिनामा उच्च रहेकोे चितवनको कोरोना संक्रमणदर मंसिर महिनाको तीन साताको अवधिमा घटेको छ । साउन महिनामा एक सय पाँचजना संक्रमित हुँदा भदौमा एक हजार एक सय ४५, असोजमा एक हजार सात सय ६० संक्रमित भएका थिए ।

कात्तिक महिनामा सबैभन्दा बढी दुई हजार एक सय ५८ जना संक्रमित भएका थिए । मंसिरको तीन साताको अवधिमा संक्रमणदर घटेर ६ सय १५ मा झरेको छ । १५ मंसिरयता संक्रमणदर अधिकतम ६२ र न्यूनतम २० जना रहेको छ । एक साताको अवधिमा मृतक संख्या सात मात्र रहेको छ । १२ देखि १६ मंसिरसम्म कुनै पनि संक्रमितको निधन नभएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

मंसिरमा मृत्युदर न्यून
संक्रमणदर मात्र नभई संक्रमितको मृत्युदर पनि अहिले घटेको छ । भदौ महिनामा १६ जनाको मृत्यु भएको थियो । असोजमा २२ जना, कात्तिकमा ४४ जनाको ज्यान गएकोमा मंसिरमा घटेर जम्मा १२ मा आएको छ । ‘नमुना संकलन पहिलेकै जस्तो रहँदा पनि संक्रमित संख्या भने निकै घटेको पाइयो’, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले भने, ‘क्यान्सर अस्पतालमा हुने नमुना संकलन र नतिजाले चितवनको मात्र नभई देशभरि नै कोरोना संक्रमणको अवस्था के–कस्तो रहेको छ थाहा पाइन्छ ।’ अस्पतालमा देशका विभिन्न भूभागबाट उपचारका लागि आउने हुनाले कोरोना संक्रमण अवस्था थाहा हुने डा. गौतमको भनाइ छ । 

कुन उमेरका कति मृत्यु ?
१० वर्षसम्मका १, ११ देखि २० वर्षका १, ३१ देखि ४० वर्षका सातजना, ४१ देखि ५० वर्षका नौजना, ५१ देखि ६० का १८ जना, ६१ देखि ७० का २२ जना, ७१ देखि ८० का १९ जना र ८० वर्षमाथिका १९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । २१ देखि ३० वर्ष उमेर समूहका कसैको पनि मृत्यु भएको छैन । 

हालसम्म सबैभन्दा बढी जोखिम उमेर समूहमा २१ देखि ३० वर्षका रहेका छन् । यस उमेर समूहका हालसम्म एक हजार सात सय तीनजना संक्रमित भएका छन् । १० वर्षसम्मका एक सय २६, ११ देखि २० वर्षका तीन सय २७ जना, ३१ देखि ४० वर्षका एक हजार चार सय ४३, ४१ देखि ५० वर्षका नौ सय ८०, ५१ देखि ६० का सात सय १० जना, ६१ देखि ७० का तीन सय ३८, ७१ देखि ८० का एक सय ८५ र ८० वर्षमाथिका ८० जना छन् । 

See More On

सुझावित समाचार