नेप्से बुलिस प्रवृत्ति कमजोर बन्दै, करेक्सनमा जाने सम्भावना उच्च

बुधबार, १७ मंसिर, २०७७
डिजिटल संस्करण

लगातार उचाइ छोइरहँदा नेप्सेको बुलिस प्रवृत्ति कमजोर भइरहेको छ, तर लगानीकर्ता भने आक्रामक नै देखिएका छन । बजार एकै दिन कहिले १२ अंकसम्म र कहिले ३४ अंकसम्म घटेको छ । उच्च उतारचढाव देखिएको बजार बन्द हुँदा भने अघिल्लो दिनको भन्दा ३ दशमलव ३५ अंकले बढेर २ हजार दशमलव ४० अंकमा बजार बन्द भएको छ । 

बजार घटे पनि ७ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको छ । अहिले लगानीकर्ता नयाँ उचाइमा पुग्दा पनि दरिलो भएर कारोबार गरिरहेका छन् । यद्यपि, बजार सानै भए पनि करेक्सन हुने सम्भावना भने बढेर गएको छ । बजार खरिददारीको उच्च चरणमा रहेको नेप्सेको आरएसआई सूचकले समेत देखाइरहेको छ । १४ दिने आरएसआई सूचकले यो ९९ दशमलव ३३ स्केलमा देखिएको छ । 

बजार बढे पनि मंगलबारकै कारोबार पनि बियरिस रहेको एड्भान्स–डिक्लाइन रेसियो (एडी रेसियो)ले संकेत गरेको छ । यो अनुपात शून्य दशमलव २९ छ । यो सूचक १ भन्दा माथि रहे बजार बुलिस र एकभन्दा तल रहे बजार बियरिस रहेको विश्लेषण गरिन्छ ।

बजारमा यस दिन कारोबार भएका विभिन्न संस्थाको १ सय ९७ किसिमका धितोपत्र, ऋणपत्र, सामूहिक लगानी कोषका इकाइमा १ सय ४१ वटाको मूल्य घटेको, ४१ वटाको मूल्य बढेको र १५ वटाको मूल्य स्थिर रहेको छ । विगत १४ दिनमा बजार १ दिन मात्र २ अंकले घटेको छ ।

बजारमा प्रतिफल सुनिश्चित गर्ने क्रममा समेत लगानीकर्ता लागेका छन् । यद्यपि, बजारको वृद्धि कायमै रहेको देखाउन बाठा लगानीकर्ताले नेपाल टेलिकमको मूल्यमा फेरि पनि लगानी बढाइरहेको देखिन्छ । नेपाल टेलिकमको मूल्य कारोबारको मध्यदेखि एकोहोरो बढेको छ ।

बजार पुँजीकरणका आधारमा ६ प्रतिशतभन्दा धेरै हिस्सा रहेको टेलिकमको मूल्य बजार बन्द हुँदा मूल्य करिब १० प्रतिशतसम्म बढेको छ । टेलिकम सूचीकृत ‘अन्य’का साथै उत्पादनमूलक समूहबाहेक सबै परिसूचक बजार खुलेको  समयभन्दा तल नै रहेर बजार बन्द भएको छ । 

बजार बन्द हुँदा जलविद्युत्, उत्पादनमूलक, अन्य, लघुवित्त र जीवन बिमा समूहगत परिसूचक मात्र अघिल्लो दिनको भन्दा वृद्धि भएको छ । नेपाल पुनर्बिमा, अपर तामाकोसीलगायतका ठूला पुँजीका कम्पनीको मूल्य पनि करिब १० प्रतिशतसम्म बढेको छ । नेप्सेको मैनबत्ती चित्रले यस दिन ह्यामर आकृति बनाएको छ ।

सानो शरीरसहितको यस आकृतिको तल्लो धागो लामो छ । यसले धेरै लगानीकर्ता बजार घट्ने पक्षमा देखिन थालेको र बजारलाई तलतिरैबाट बढी दबाब परिरहेको संकेत गर्छ । यो संकेत मध्यम नै हो । आगामी कारोबार घटेर भएमा केही दिन बजार करेक्सनमै देखिनेछ ।   

See More On

सुझावित समाचार