कोभिड–१९ का कारणले गर्दा बैंकका सेवाग्राहीलाई पर्न गएको विभिन्न बैंकिङ समस्याको समाधानको उद्देश्यले सेन्चुरी कमर्सियल बैंकले अनलाइन एकाउन्ट सेवा सुरु गरेको छ । बैंकले डिजिटल बैंकिङलाई अझ सहज बनाउने प्रयासस्वरूप सेन्चुरी सहज खाता र सेन्चुरी क्लिक एकाउन्ट नामका दुई प्रकारका अनलाइन एकाउन्ट सेवा सुरु गरेको हो ।
ग्राहकले घरमै बसेर शून्य मौज्दातमा खोलिने उक्त खातामा बैंकले वार्षिक ५.५० प्रतिशतका दरले त्रैमासिक रूपमा ब्याज भुक्तानी गर्ने जनाइएको छ । बचत खातामा उच्चतम प्रतिफलका साथ खोल्न मिल्ने उक्त खाताहरू डिजिटल्ली खुल्ने र ग्राहकहरू बैंकमा उपस्थित हुनुनपर्ने हुँदा डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै उक्त बचत खाताहरूमा प्रवर्द्धनका निम्ति बढी ब्याजदर दिएको बैंकले जनाएको छ ।
सेन्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोल्नका साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गरी सेन्चुरी पेमार्फत वालेटको कारोबारसमेत गर्न सकिने जनाइएको छ । यो सेवामार्फत ग्राहकले विभिन्न डिजिटल माध्यमबाट प्रतिदिन ५ हजार रुपैयाँ र वार्षिक १ लाख रुपैयाँबराबर क्यास लेस कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
सेन्चुरी क्लिक एकाउन्टमा नयाँ ग्राहकले अनलाइनबाटै खाता खोल्नका साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गर्न सकिने जनाइएको छ । खातामा वार्षिक १५ लाख रुपैयाँसम्म कारोबारसमेत गर्न सकिने बैंकले जनाएको छ । बैंकका अनुसार यो खाता विशेष गरी विदेशमा रहेका नेपालीलाई लक्षित गरी सञ्चालनमा ल्याएको हो ।