आगलागीको कारण पत्ता लगाउन समिति गठन

आइतबार, ३० कार्तिक, २०७७
डिजिटल संस्करण

ललितपुर महानगरपालिकाले महानगरको फोहोरमैला व्यवस्थापन केन्द्रमा भएको आगलागीको कारण पत्ता लगाउन अध्ययन समिति गठन गरेको छ ।

महानगरको वातावरण तथा विपत् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवालेको संयोजकत्वमा समिति गठन गरेको महानगरका प्रमुख चिरिबाबु महर्जनले बताए ।

उक्त समितिमा महानगरका प्रवक्ता राजु महर्जन, वडा नं ८ का वडध्यक्ष हेम महर्जन, फोहोरमैला केन्द्रका प्रमुख सुरेन्द्रराज अवाले र मेकानिकल इन्जिनियर पुष्कर भट्टराई रहेका छन् ।

उक्त केन्द्र महानगरको वडा नं. ८ मा पर्छ । चक्रपथ बालकुमारी खरीबोटस्थित उक्त केन्द्रमा शुक्रबार अपराह्न आगलागी भएको थियो ।

आगलागीको अवलोकन गर्न पुगेका प्रमुख महर्जनले घटना भएको एक सातमा अध्ययन प्रतिवेदन पेस गर्न निर्देशन दिएका छन् ।

उनले भने, ‘उक्त समितिले आगलागी हुनुको कारण, क्षति र अब यस्तो घटना नदोहाेरिन अपनाउनुपर्ने सुरक्षात्मक उपायहरूसमेत समितिले प्रतिवेदनमा उल्लेख गर्छ ।’ केन्द्रका प्रमुख अवालेले आगलागी सुरु भएको एक घन्टामा आगो नियन्त्रण भएको बताए ।

केन्द्रमै भएका कर्मचारीले ‘फायर एस्टिङग्वसर’ प्रयोग गरेर आगो नियन्त्रण गर्ने प्रयास गरेका थिए । आगो पूर्ण रूपमा निभाउन ललितपुर वारुणयन्त्र शाखाबाट दमकल आएको थियो ।

सिसडाेल ल्याडफिल्ड साइटमा फोहोर पुऱ्याउनुअघि ललितपुर महानगरपालिकामा उठेको फोहोर यो केन्द्रमा अस्थायी रूपमा जम्मा गरिन्छ ।

केन्द्रमा आगलागी भए पनि ललितपुरभित्रको फोहोर निरन्तर उठिरहेको अवालेले जानकारी दिए ।

उनले भने, ‘चाडपर्वमा अरू वेलाभन्दा धेरै फोहोर संकलन हुन्छ, फोहोर संकलन भइरहेको छ ।’

सुझावित समाचार