दमकमा ३० शय्याको कोरोना अस्पताल

शनिबार, २९ कार्तिक, २०७७
डिजिटल संस्करण

झापाको दमकमा अक्सिजनसहितको ३० शय्याको कोभिड अस्पताल सञ्चालनमा आएको छ । दमक नगरपालिकाले दमक अस्पतालमातहत रहने गरी कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो ।

अस्पतालमा लक्षणसहित स्वास्थ्यमा समस्या देखिएका कोरोना संक्रमितको उपचार गरिने दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिइन् । ‘यहाँ संक्रमित हुनेबित्तिकै लैजाने होइन । जसलाई श्वास फेर्न गाह्रो हुन्छ । त्यसलाई ल्याउन सकिनेछ,’ उनले भनिन्, ‘अस्पताल आइतबारदेखि सुरु भएको हो । अहिले मान्छे आउनुभएको छैन । अब जतिवेला पनि ल्याउन सकिनेछ ।’ कोरोना महामारीले दमकमा भयावह अवस्था निम्तिएपछि कोभिड अस्पताल सञ्चालनमा ल्याइएको दमक नगरपालिकाले जनाएको छ । सोमबार साँझको तथ्यांकअनुसार दमकमा मात्र २३ जना संक्रमितले ज्यान गुमाएका छन् । ३० बेडको अस्पतालमा चारवटा विशेष केयरसहितको बेड रहेको उनले बताइन् । 

अस्पतालमा उपचारका लागि कुनै शुल्क तिर्न नपर्ने उपप्रमुख अधिकारीले बताइन् । ‘अहिले यहाँ भर्ना हुने कसैले पनि शुल्क तिर्न पर्दैन । सबै उपचार निशुल्क हुन्छ,’ उनले भनिन्, ‘उपचारका क्रममा सरकारले निशुल्क उपलब्ध गराएको औषधि किन्न पर्दैन । सरकारले उपलब्ध नगराएको महँगो पर्नेचाहिँ पछि किन्नुपर्छ भन्ने कार्यविधि बनाएका छौँ ।’

कोभिड अस्पताल दमक–२ स्थित बेलडाँगी–१ को तत्कालीन समयमा शरणार्थी बसेको स्थानमा बनाइएको छ । तत्कालीन समयमा भुटानी शरणार्थी समन्वय इकाइको कार्यालय रहेको भवनमा कोभिड उपचार केन्द्र सञ्चालन गरिएको हो । बेलडाँगी–१ मा रहेका शरणार्थी पुनर्वास भएपछि र यहाँ बाँकी रहेकालाई पनि बेलडाँगी–२ मा सारिएपछि खाली र जीर्ण रहेको भवनलाई पुनर्निर्माण गरेर अस्पताल सञ्चालनमा ल्याइएको उपप्रमुख अधिकारीले जानकारी दिइन् ।

कोभिड अस्पतालमा बिरामीको उपचारका लागि चाहिने उपकरण खरिद र संरचना निर्माणमा ३२ लाख खर्च भएको दमक नगरपालिकाले जनाएको छ । अब स्वास्थ्यकर्मी बस्नका लागि आवास निर्माण आवश्यक रहेको उपप्रमुख अधिकारीले जानकारी दिइन् । अस्पतालका लागि दुईजना मेडिकल अफिसर र दुई स्टाफ नर्स नियुक्तिका लागि विज्ञापन खुलाएको उनले बताइन् । ‘यो अस्पताल दमक अस्पतालमातहत हो । आवश्यक परेमा यहाँका चिकित्सक पनि आउन सक्नुहुन्छ,’ उनले भनिन्, ‘आम्दा अस्पतालले पनि उपलब्ध गराउन सक्छौँ भन्नुभएको छ । आवश्यक पर्दा त्यहाँबाट पनि आउनुहुन्छ ।’
 

See More On

सुझावित समाचार