स्वास्थ्य मन्त्रालयको शुक्रबारको तथ्यांकअनुसार देशभरका अस्पतालमा ८७ संक्रमितको भेन्टिलेटर र तीन सय ८७ को आइसियूमा उपचार भइरहेको छ । उपत्यकाका अस्पतालमा मात्रै ६१ जना भेन्टिलेटरमा र एक सय ६८ जना आइसियूमा छन् ।
लुम्बिनी प्रदेशमा आइसियूमा ७१ र भेन्टिलेटरमा एकजना छन् । गण्डकी प्रदेशमा ६९ जना आइसियू र ११ जना भेन्टिलेटर, प्रदेश १ मा ४९ जना आइसियू र १२ जना भेन्टिलेटरमा, प्रदेश २ मा १४ जना आइसियू र दुईजना भेन्टिलेटरमा छन् । त्यस्तै, कर्णालीमा ११ जना र सुदूरपश्चिम प्रदेशमा पाँचजना आइसियूमा उपचाररत छन् ।
कोरोनाको सामान्य वा मध्यम खालको लक्षण देखिएका संक्रमितलाई आइसियूमा भर्ना गर्नुपर्ने वा भेन्टिलेटरमा राखिहाल्नुपर्ने अवस्था हुँदैन । उनीहरूको अक्सिजन दिएर वा अन्य चिकित्सकीय सहायतामार्फत उपचार सम्भव छ । तर, गम्भीर लक्षण भएका र पहिलेदेखि नै विभिन्न रोग लागेका बिरामीलाई आइसियूमा भर्ना गर्नुपर्ने वा भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा गम्भीर लक्षण देखिएका र पहिलेदेखि नै विभिन्न दीर्घरोग भएका व्यक्ति धेरै छन् । त्यसैले मृत्यु घटाउन भेन्टिलेटर र आइसियू महत्वपूर्ण हुन्छ, जसले देशैभर अभाव छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा नौ हजार पाँच सय ३३ नमुना परीक्षण गर्दा दुई हजार एक सय ११ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार कोरोनाबाट १३ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या एक हजार दुई सय दुई पुगेको छ । हाल देशभर ३७ हजार २२ सक्रिय संक्रमित छन् । उनीहरूमध्ये २९ हजार ४९ होम आइसोलेसनमा बसेका छन् ।