शिक्षण अस्पतालको प्लाज्मा फेरेसिस गर्ने मेसिन बिग्रियो

शुक्रबार, २८ कार्तिक, २०७७
डिजिटल संस्करण

दुई हप्तादेखि कोरोना संक्रमितको प्लाज्मा थेरापी प्रभावित

शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना संक्रमितलाई दिइने प्लाज्मा थेरापी सेवा प्रभावित भएको छ । प्लाज्मा फेरेसिस गर्ने एफेरेसिस मेसिन दुई साताअघि बिग्रिएको अस्पतालले जनाएको छ ।

यो मेसिनले प्लाज्मासँगै आरविसी, प्लेटलेटलगायत धेरै प्रकारका फेरेसिस गर्छ । यसले रगत निकालेर प्लाज्मा बनाउने नभएर दाताको शरिरबाट सिधै सेतो रगत छुट्याएर प्लाज्मा अर्को व्यक्तिमा पठाउने काम गर्छ । अरु मेसिनबाट भने रगत निकालेर प्लाज्मा छुट्याउनु पर्छ । चिकित्सकहरूका अनुसार यत्तिको अत्याधुनिक मेसिन नेपालका अन्य अस्पतालमा छैन् । ‘प्लाज्मा निकाल्ने क्रममा यो मेसिनले दाताको शरिरमा कुनै प्रकारको समस्या गर्दैन, हेमोग्लोबिन समेत घट्न दिँदैन,’ शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले भने ।

नेपालमै पहिलो पटक गत १६ साउनमा शिक्षण अस्पतालमा कोरोना संक्रमण मुक्त भएका एक पुरुषबाट प्लाज्मा निकालेर संक्रमितमा चढाइएको थियो । कुनै व्यक्ति कोरोनामुक्त भएपछि उसमा रोग प्रतिरोधी ‘एन्टिबडी’ विकास भएको हुन्छ । आवश्यक परे त्यस्तो एन्टिबडीको सहयोगले आइसियुमा पुगेका कोरोना संक्रमितको रगतमा मिसाएर उपचार गरिन्छ । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्लाज्मा थेरापी कोरोना संक्रमितका लागि प्रभावकारी उपचार पद्धती भएको सुझाव सरकारलाई दिएको छ । प्लाज्माको प्रभावकारीताबारे अध्ययन गरी परिषद्ले पहिलो चरणको रिपोर्ट स्वास्थ्य मन्त्रालयलाई पठाएको थियो । परिक्षणका रुपमा एक हजार चार सय संक्रमितमा प्लाज्मा थेरापी गर्ने सरकारको लक्ष्य छ । अहिलेसम्म चार सयको प्लाज्मा थेरापी गरिएको छ । शिक्षण अस्पतालले मात्रै ४० जनाभन्दा बढीको प्लाज्मा थेरापी गरिसकेको छ । अहिले देशभरका २० अस्पतालमा प्लाज्मा थेरापीको सेवा छ । 

शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासका अनुसार बिग्रिएको मेसिन बनाउने काम अघि बढाइएको छ । मेसिन बिग्रिएपछि हाल अस्पतालले बाहिरबाट प्लाज्मा ल्याएर हप्तामा दुई जनालाई सेवा दिने गरेको छ । 

१९१३ संक्रमित थपिए 
पछिल्लो २४ घण्टामा देशभर एक हजार ९ सय १३ जनामा कोराना संक्रमण पुष्टी भएको छ । यससँगै कुल संक्रमितको संख्या दुई लाख चार हजार दुई सय ४२ पुगेको छ । तिमध्ये एक लाख ६४ हजार पाँच सय ९२ जना निको भइसकेका छन् । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार अहिलेसम्म कोरोना संक्रमणबाट एक हजार एक सय ८९ जनाको मृत्य भएको छ । पछिल्लो २४ घण्टामा मात्रै १५ जनाको मृत्यु भएको उनले बताए । मन्त्रालयको तथ्यांक अनुसार अहिले तीन सय ७३ जनाको आइसियु र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

सुझावित समाचार