पाम आयलको निर्यात शून्यमा

सोमबार, २४ कार्तिक, २०७७
डिजिटल संस्करण

मासिक औसत साढे एक अर्बको दरमा भइरहेको पाम आयलको निकासी  चालू आवको ३  महिना शून्य भएको छ, भदौमा जम्मा साढे ४ लाखको निर्यात

पछिल्लो तीन वर्षयता नेपालबाट सबैभन्दा बढी मूल्यको निर्यात हुने वस्तुको सूचीमा पहिलो पाम आयल रहेको थियो । तर, चालू आर्थिक वर्षको तीन महिनामा पाम आयलको निर्यात ह्वात्तै छ । भारतले गरेको अवरोध र कोभिड–१९ का कारण पाम आयलको निर्यातमा उच्चदरको गिरावट आएको हो । 

व्यापार तथा निकासी पर्वद्धन केन्द्रका अनुसार चालू आवको तीन महिना (असोजसम्म)मा नेपालबाट ४ लाख ४३ हजार रुपैयाँबराबरको पाम आयल निर्यात भएको छ । यो गत आवको तीन महिनाको तुलनामा झन्डै शतप्रतिशतले कमी हो । गत आव ०७६/७७ को पहिलो तीन महिनामा नेपालले ५ अर्ब ७५ करोड २९ लाख रुपैयाँबराबरको पाम आयल निर्यात गरेको थियो । 

भारतको वाणिज्य मन्त्रालयले २३ पुस ०७६ देखि नेपाली पाम आयल निकासीमा रोक लगाएको थियो । त्यसपछि सरकार, निजी क्षेत्र र स्वयं भारतीय आयातकर्ताले बारम्बार आग्रह गरेपछि भारतले माघ तेस्रो साताबाट पाम आयल निकासी खुकुलो गरेको थियो ।

भारतीय आयातकर्ताले अनुमतिपत्र लिनुपर्ने व्यवस्था गर्दै भारतले त्यसकै आधारमा पाम आयल आयात गर्न सकिने व्यवस्था गरेको थियो । यो व्यवस्थापछि भारतीय आयातकर्ताले अनुमति लिएर नेपालबाट पाम आयल आयात गर्दै आएका थिए । पुसमा लगाएको रोक माघमा आंशिक खुला भएपछि जेठसम्म पाम आयल निर्यात सुस्त गतिमा भएको थियो । तर, असारयता चाहिँ पाम आयल निर्यात लगभग ठप्प नै भएको केन्द्रको तथ्यांक छ । 

पाम आयल निकासीमा रोक लगाएको महिना पुस ०७६ सम्म नेपालले १३ अर्ब ८९ करोड ६२ लाखको निर्यात गरेको थियो । जेठ ०७७ सम्म १८ अर्ब ३१ करोड ७९ लाखको निर्यात भएको देखिन्छ । त्यसपछि असारयता भने जम्मा ४ लाख ४३ हजार रुपैयाँबराबरको मात्रै पाम आयल निर्यात भएको केन्द्रको तथ्यांक छ ।

भारतले पाम आयलमा लगाएको रोकलाई निरन्तरता दिइरहेकाले पाम आयल निर्यात हुन नसकेको एक निर्यातकर्ताले बताए । ‘भारतले पुसमा रोक लगायो, तर चौतर्फी दबाब र आग्रहपछि माघ महिनामा आंशिक खुला गर्‍यो, त्यसयता थोरै–थोरैको निर्यात भइरहेको थियो,’ उनले भने, ‘असारयता भने निर्यात नै भएको छैन, लगभग ठप्प नै छ ।’

सरकार र सरोकारवालाले भारतसँग प्रभावकारी वार्ता गर्न नसक्दा पाम आयल निकासी रोकिएको अर्का व्यवसायीले बताए । ‘नेपालमा एकथरी व्यवसायी र सरकारी कर्मचारी पनि पाम आयल निर्यातप्रति सकारात्मक देखिँदैनन्, जुन अचम्मको विषय हो,’ उनले भने, ‘अन्य वस्तुको जस्तै पाम आयलको पनि विदेशबाट कच्च पदार्थ ल्याएर मूल्य अभिवृद्धि गरेर निर्यात गर्ने हो, यसलाई कुनै शंकाको आँखाले हेर्न जरुरत छैन ।’ पाम आयलको प्रशोधनका क्रममा मूल्य अभिवृद्धि हुने, रोजगारी सिर्जना गराउने तथा सरकारले आयकरसमेत प्राप्त गर्ने भएकाले यसको निर्यात प्रवद्र्धन गर्नुपर्ने व्यवसायीहरू बताउँछन् । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले पाम आयलको निकासीमा कुनै अवरोध नरहेको बताइन् । ‘निर्यात घट्नुका अन्य व्यावसायिक कारण हुन सक्छन्, तर निकासीमा खास अवरोध छैन,’ उनले भनिन्, ‘पामको निकासीमा देखिएको समस्या गत वर्षको माघमै सल्टिसकेको हो ।’ 
नेपालमा २० पाम आयल उद्योग छन् । त्यसमध्ये १७ वटाले निकासी गर्छन् ।

नेपालले इन्डोनेसिया र मलेसियाबाट कच्चा पदार्थ पाम ल्याएर प्रशोधन गर्दै निकासी गर्ने गरेको छ । भारतले मलेसियाबाट हुने पाम आयलको आयातलाई रोकेपछि नेपालबाट हुने निकासी उच्चदरले बढेको थियो । तर, नेपालको पाम आयलमा आवश्यकताअनुसार मूल्य अभिवृद्धि नगरिएको भन्दै  भारतले नेपालबाट हुने निकासीमा रोकटोक गर्दै आएको छ । यद्यपि, सरकारको अध्ययनले भने नेपालमा पाम आयलमा ३० प्रतिशत वा सोभन्दा बढी मूल्य अभिवृद्धि भएको देखाएको छ । 

केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले आयातकर्ताले पामको साटो सोयाबिन आयललाई रोजेपछि पाम आयलको निकासी कम भएको बताउँछन् । ‘अन्य कारण पनि होलान्, तर मुख्य गरी उपभोक्ताको रोजाइमा पनि परिवर्तन भएर पामको साटो सोयाबिन आयलको माग बढी भएको देखिन्छ,’ उनले भने, ‘त्यही भएर पामको निर्यात कम भएको हुन सक्छ ।’

क्रुड पाम आयलको आयात पनि घट्यो
पाम आयलको निकासी घटेसँगै क्रुड पाम आयल (कच्चा पदार्थ)को आयात पनि घटेको छ । चालू आवको तीन महिनामा १ अर्ब ३२ करोड ३४ लाख रुपैयाँको क्रुड पाम आयल आयात भएको छ । जबकि, अघिल्लो आवको सोही अवधिमा ५ अर्ब २६ करोड ९४ लाखको क्रुड पाम आयल आयात भएको थियो । गत आव ०७६÷७७ मा कुल १७ अर्ब ३९ करोड ८ लाखको क्रुड पाम आयल आयात भएको थियो । 

See More On

सुझावित समाचार