सातामा १० अंकले बढ्यो नेप्से

आइतबार, २३ कार्तिक, २०७७
डिजिटल संस्करण

साताभरमा १२ अर्ब २२ करोड रुपैयाँको सेयर किनबेच, दैनिक औसत कारोबार रकम भने १५ दशमलव १७ प्रतिशतले घट्यो

गत साताभरमा नेप्से परिसूचक १० अंकले मात्रै बढेको छ । नेप्सेको दिशा स्पष्ट नभइरहेकाले पनि नेप्सेमा ठूलो उतारचढाव देखिएको छैन । साताभरमा १२ अर्ब २२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । दैनिक औसत कारोबार रकम भने अघिल्लो साताको तुलनामा घटेको छ । यस्तो रकम १५ दशमलव १७ प्रतिशतले घटेर २ अर्ब ४४ करोड रुपैयाँको सेयर किनबेच भएको हो । 

कारोबार रकमका आधारमा गत साता सबैभन्दा धेरै प्राइम कमर्सियल बैंकको सेयर किनबेच भएको हो । बैंकको ६६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । किनबेच भएको सेयर संख्याका आधारमा भने यो बैंक दोस्रो स्थानमा छ । बैंकको १९ लाख १५ हजार कित्ता सेयर खरिद–बिक्री भएको हो । 

प्राइमको ५४ प्रतिशतले मुनाफा बढेर १ अर्ब १ करोड रुपैयाँ पुगेको हो । बैंकले हालसम्म ३३ करोड ८४ लाख प्रतिफलका रूपमा वितरण गर्न सक्छ । यो भनेको चुक्ता पुँजीको २ दशमलव ३६ प्रतिशत हो । सातामा बैंकिङ समूहगत परिसूचक भने ३९ अंकले घटेको छ । सबैभन्दा बढी संख्यामा सेयर कारोबार भने शिवश्री हाइड्रोपावरको रहेको छ । शिवश्रीको २७ लाख २६ हजार कित्ता सेयर खरिद–बिक्री भएको थियो । 

सातामा व्यापारमूलक, जलविद्युत् र लघुवित्त कम्पनीको समूहगत परिसूचक सबैभन्दा धेरैले बढेको छ । यी समूहमा क्रमशः १० दशमलव ९५ प्रतिशत, ३ दशमलव ६ र ३ दशमलव १७ प्रतिशतले वृद्धि भएको हो । 

सातामा २ करोड ११ लाख कित्ता सेयर थपिएको छ । हिमालयन जनरल इन्स्योरेन्स र तिनाउ मिसन डेभलपमेन्टको बोनस सेयर, गुराँस लाइफको हकप्रद र सानिमा जनरल इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर थपिएको हो । 

नेप्से परिसूचक अन्तरदिनको कारोबारमा ७ देखि १२ अंकले उतारचढाव भइरहेको छ । यसबीचमा नेप्से १ हजार ६ सय ३४ आसपासबाट फर्कने, तर १ हजार ६ सय ४६ आसपासबाट माथि जान नसक्ने गरिरहेको छ । नेप्से सानो रेन्जमा रहेर तल–माथि मात्र गरिरहेको छ ।  

नेप्से १४ दिने आरएसआई सूचकका आधारमा अधिक खरिद क्षेत्रमा थप उक्लिएको छ । बुधबार ७३ स्केलमा रहेको नेप्से ७६ मा पुगेको हो । रेखाचित्रका आधारमा नेप्सेले डबल बटम आकृति बनाउन लागेको देखिन्छ । हालको बिन्दुबाट माथि उक्लिए यस्तो आकृति बन्नेछ र बजार थप केही बढ्न सक्ने विश्लेषण गरिन्छ । 

७ दिने रेखाले २१ दिने रेखालाई थप तल छाडेर माथि लागेकाले बजार केही बढ्न सक्ने देखिएको छ । नेप्सेको मैनबत्ती चित्रले भने बजारले स्पष्ट दिशा समात्न नसकेको संकेत गरिरहेको छ । 

See More On

सुझावित समाचार