चीनको सफ्ट पावर अर्थात् मिडिया

आइतबार, २३ कार्तिक, २०७७
डिजिटल संस्करण

चीनको सत्तारुढ चिनियाँँ कम्युनिस्ट पार्टी प्रेसलाई ‘कम्युनिस्ट पार्टीको आँखा, कान, जिब्रो र आवाज’ ठान्छ 

चीन अहिले विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । सन् १९७८को अन्तिमबाट देङ सिआयो पिङले सुरु गरेको आर्थिक सुधारपछि चीनले छोटो समयमै उलेख्य आर्थिक वृद्धि हासिल ग¥यो । चीन आर्थिक रूपमा सबल भएसँगै उसलाई विश्वमा आफ्नो सफ्ट पावर विस्तार गर्ने आवश्यकता देखिएकोजस्तो देखिन्छ । यसका लागि उसले मिडियालाई उपभोग गर्न थालेको छ । विगतमा चीनभित्र मात्र केन्द्रित चिनियाँ मिडियाले अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्न थालेका छन् ।

सिन्ह्वा नामक समाचार एजेन्सीले विश्वभर ब्युरो खोलेर काम गरिरहेको थियो । तर, समाचार एजेन्सीका अतिरिक्त अब चिनियाँँ सरकारले आफ्नै फ्ल्यागसिपयुक्त टिभी च्यानलको सञ्जाल पनि विस्तार गर्न थालेको छ । चीन चिनियाँ संस्कृति र विश्व दृष्टिकोण विश्वव्यापी बनाउन चाहन्छ र यसका लागि मिडिया सबभन्दा उपयुक्त उपकरण बनेका छन् । 
चीनको बढ्दो आर्थिक शक्तिअनुरूप उसका दृष्टिकोण विश्वसामु नआएको परिप्रेक्ष्यमा चीनले अन्तर्राष्ट्रिय पहुँच हुने मिडियामा ध्यान दिन थालेको हो । तथापि चीनमा पहिलेदेखि नै छापा, रेडियो तथा टेलिभिजन क्षेत्रमा सरकारको बलियो उपस्थिति थियो । 

यसैले पछिल्लो समय उसले मिडियामा उल्लेख्य लगानी बढाएको छ । देशभित्र बलिया मिडिया संस्थान निर्माणमा उसले अर्बौंको लगानी गरिरहेको छ । अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त मिडियामा प्रचारात्मक सामग्री लगानीमा समेत चीनले जोड दिएका समाचार आइरहेका छन् । 

सन् १९४९ मा माओत्से तुङको नेतृत्वमा साम्यवादी क्रान्ति सफल भएपछि कम्युनिस्ट नीति कार्यान्वयन गर्ने क्रममा चीनमा निजी स्वामित्व दुरुत्साहित गरियो । यसअन्तर्गत निजी स्वामित्वका स–साना मिडिया पनि सरकारी स्वामित्वमा आए । खासमा चीनमा कम्युनिस्ट शासन स्थापना हुँदा विश्वको प्रमुख सञ्चार माध्यम छापा थियो । यसमा सबैभन्दा महत्वपूर्ण पत्रिका पिपुल्स डेली थियो । चिनियाँँ सरकार र सत्तारुढ पार्टीको मुखपत्रका रूपमा सुरु भएको यो पत्रिका अहिले चीनको सबैभन्दा ठूलो छापा समूह हो । यो अहिले पनि दैनिक तीस लाख प्रति निस्किने गरेको बताइन्छ । साथै, यो चिनियाँ भाषाका अलावा अंग्रेजी, स्पेनिस, जापानिज, रसियन, फ्रेन्च, अरबी, पोर्चुगिजलगायत भाषामा पनि प्रकाशित हुने गर्छ । यसै पत्रिकाको संरक्षणमा अंग्रेजी भाषामा समेत ग्लोबल टाइम्स नामक ट्याबलोइड छापिने गर्छ । ग्लोबल टाइम्सले उसको संरक्षक पिपुल्स डेलीले भन्दा कडा भाषा प्रयोग गर्ने मानिन्छ ।

चिनियाँ सरकारले आफ्ना सबै मिडियालाई निश्चित विषयबाट टाढा रहन निर्देशन दिने गरेको छ । केही विषयमा रिपोर्टिङ गर्न प्रतिबन्ध लगाएको छ । यो कुरा चीनले लुकाएर होइन, खुलेर नै भन्ने गरेको छ । चीनका लागि संवेदनशील मानिने एक चीन नीति र धर्मका विषयमा बहस गर्न पाइँदैन भने यौनजन्य विषयमाथि पनि बन्देज छ ।

ग्लोबल टाइम्स सन् २००९ देखि अंग्रेजी पाठकलाई लक्षित गरेर प्रकाशित हुन थालेको हो । तर, चिनियाँँ सरकारले ३० वर्षअघि नै अन्तर्राष्ट्रिय पाठकलाई लक्षित गरी चाइना डेली छाप्न थालिसकेको थियो । यो पत्रिका चीनमा बसोवास गर्ने विदेशी तथा विदेशमा चिनियाँँ सरकारको नीतिबारे जानकारी दिने उद्देश्य राखेर प्रकाशन सुरु गरिएको थियो । 

चिनियाँँ सरकारले पत्रिकाका अतिरिक्त रेडियो सेवालाई पनि जोड दिने गरेको छ । उसले देशभित्र चाइना नेसनल रेडियो र देशबाहिरका स्रोतका लागि चाइना रेडियो इन्टरनेसनल (सिआरआई) स्थापना गरेको छ । रेडियो धेरै सुनिने एक दशकअघिसम्म पनि नेपालका धेरै स्थानमा सिआरआईको नेपाली प्रसारण सेवा सुन्ने धेरै नै थिए । सिआरआई नेपाली सेवाको आधिकारिक वेबसाइटअनुसार अहिले पनि नेपालबाहेक भुटान, भारत, बंगलादेश, साउदी अरेबिया र युएईबाट रेडियो सुन्छन् । नेपाली सेवा सन् १९७५ जुन २५ मा सुरु भएको सेवाको वेबसाइटमा उल्लेख छ । अहिले पनि नेपाली भाषासहित सिआरआईले पचास भाषामा रेडियो सेवा दिइरहेको छ । 

सन् १९४९ मा टिभीको आविष्कार भइसकेको भए पनि व्यापक हुन सकेको थिएन । केही पश्चिमी मुलुकमा बिस्तारै टिभीको प्रयोग बढ्न थालेको थियो । चीनमा सन् १९५८ मा आएर मात्र टिभी स्थापना भयो । हाल सिसिटिभी नाममा सञ्चालन हुने यो सरकारी प्रसारण संस्थाका ५० वटाजति च्यानल छन् । अलग–अलग च्यानलहरू समाचार, वृतचित्र, सामाजिक शिक्षा, हास्यव्यंग्य, मनोरञ्जन तथा टेलिफिल्ममा केन्द्रित देखिन्छन् । चीन चिनियाँ रहनसहन, खानपान, शिक्षा, शिल्प, संस्कृति कुनै पनि दृष्टिले विश्वस्तरीय रहेको बताउन चाहन्छ । 

चीनले पछिल्लो समय विदेशलाई नै लक्षित गरी टेलिभिजन नेटवर्क सुरु गरेको छ । सुरुमा सिसिटिभी इन्टरनेसनल नाममा सुरु भएको टेलिजिभन सञ्जाल अहिले चाइना ग्लोबल टेलिभिजन नेटवर्क नाममा विश्वमा प्रमुख भाषामा प्रसारण भइरहेका छन् । विश्वमा सबैभन्दा धेरै बोलिने तथा प्रभावशाली राष्ट्रका भाषाहरू अंग्रेजी, स्पेनिस, फ्रेन्च, अरबिक, रुसी भाषामा प्रसारण भइरहेका छन् । सन् २०१८ बाट चीनले सरकारी स्वामित्वमा रहेका रेडियो तथा टेलिभिजनलाई चाइना मिडिया ग्रुप वा भ्वाइस अफ चाइना नामक एकाइअन्तर्गत सञ्चालन गर्न सुरु गरेको छ । 

चिनियाँँ सरकार स्वामित्वमै विश्वकै ठूलोमध्येको एक समाचार एजेन्सी सिन्ह्वा पनि सञ्चालन भइरहेको छ । विश्वभर १७० भन्दा बढी वैदेशिक ब्युरो सञ्चालन गर्ने सिन्ह्वा संवाददाताको संख्याका हिसाबमा विश्वको सबैभन्दा ठूलो समाचार एजेन्सी हो, जसमा कम्तीमा १० हजार पत्रकार पूर्णकालीन कार्यरत रहेको अनुमान गरिन्छ । नेपालमा पनि सिन्ह्वाको एउटा ब्युरो क्रियाशील छ । सिन्ह्वाका ३३ बाहेक अन्य ब्युरोहरू विभिन्न मुलुकमा छन् । सिन्ह्वाको स्वामित्वअन्तर्गत पनि विभिन्न भाषामा २० भन्दा धेरै पत्रिका र एक दर्जनभन्दा बढी म्यागाजिन प्रकाशित हुन्छन् । माओको मृत्युसम्म चीनमा सरकारी स्वमित्वका मिडिया मात्र अस्तित्वमा थिए । देङको आर्थिक सुधारपछि भने बिस्तारै निजी स्वामित्वका मिडिया पनि देखिन थालेका हुन् । तथापि अझै पनि सरकारी मिडियाको समाजमा उलेख्य प्रभाव छ । 

चिनियाँ मिडिया र विश्वका अन्य मिडियाबीच मौलिक भिन्नता छन् । चीनमा सञ्चार क्षेत्र चिनियाँ कम्युनिस्ट पार्टीले अख्तियार गरेको नीतिअनुरूप राज्य नियन्त्रित एवं निर्देशित भएर चल्छ । विदेशी पर्यवेक्षकहरूले एकदलीय राष्ट्र भएकाले चीनका मिडियामा थप कडाइ रहेको आरोप लगाउने गरेका छन् । तथापि चिनियाँँ सरकारले मिडियामाथिको नियन्त्रणलाई लुकाउने गरेको छैन । चिनियाँ सरकारले आफ्ना सबै मिडियालाई निश्चित विषयबाट टाढा रहन निर्देशन दिने गरेको छ ।

केही विषयमा रिपोर्टिङ गर्न प्रतिबन्ध लगाएको छ । यो कुरा चीनले लुकाएर होइन, खुलेर नै भन्ने गरेको छ । चीनका लागि संवेदनशील मानिने एक चीन नीति र धर्मका विषयमा बहस गर्न पाइँदैन भने यौनजन्य विषयमाथि पनि बन्देज छ । चीनको सत्तारुढ चिनियाँँ कम्युनिस्ट पार्टी प्रेसलाई ‘कम्युनिस्ट पार्टीको आँखा, कान, जिब्रो र आवाज’ ठान्छ । यसैले त चीनले सिन्ह्वा, सिजिटिएनजस्ता संस्थामा अर्बौं डलर खन्याउन हिचकिचाइरहेको छैन । चीनले सञ्चार क्षेत्रमार्फत विश्वमा आफ्नो सकारात्मक छवि विकास गर्ने तथा आफ्नो दृष्टिकोण व्यक्त गर्ने प्रयास सुरु गरेको देखिन्छ । 

चीनको प्रभाव विस्तारका लागि पछिल्लो समय चीनले विश्वभरका विकासशील मुलुकबाट बर्सेनि हजाराैँ पत्रकारलाई चीनको अध्ययन भ्रमण गराउने गर्न थालेको छ । उनीहरू चिनियाँ मूल्य एवं जीवनशैलीप्रति विश्वलाई आकर्षित गराउन चाहन्छन् । यस परियोजनाअन्तर्गत कैयौँ नेपाली पत्रकारले चीनको भ्रमण गरिसकेका छन् । 
 

चिनियाँँ कम्युनिस्ट पार्टी (सिसिपी) र अन्य सरकारी निकायले विश्वभर चीनबारेका मिडिया कभरेज तथा सार्वजनिक बहसलाई प्रभावित पार्छन्, जुन पछिल्लो समय झनै मुखर बनेर गएको छ । सिन्ह्वा, सिसिटिभी, सिजिटिएनजस्ता राज्य सञ्चालित मिडियाले विश्वमा चिनियाँ दृष्टिकोणको प्रचारप्रसार तथा प्रवद्र्धन गर्न विशेष मिहिनेत गरिरहेका छन् । चीनले चिनियाँ आवाज मुखरित गर्न आफूले सञ्चालन गरेका मिडिया मात्रै उपयोग गरिरहेको छैन । उसले डेली टेलिग्राफ, न्युयोर्क टाइम्स, वाल स्ट्रिट जर्नलजस्ता ख्यातिप्राप्त अन्तर्राष्ट्रिय मिडियासमेतलाई उपयोग गर्ने गरेको गार्जियनले एक विशेष अनुसन्धानात्मक लेखमा प्रकाश पारेको थियो । परियोजना नै सञ्चालन गरी चीनको पैसा लिएर ती प्रतिष्ठित सञ्चार माध्यमले निश्चित संख्याको चीनबारे सकारात्मक समाचार लेख्ने गर्छन् । 

चिनियाँ मिडियाको लोकप्रियता बढेको सोसियल मिडियामा तिनका फलोअर्स हेरेर पनि आकलन गर्न सकिन्छ । फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल प्रतिबन्धित चीनका समाचार संस्थाहरूका चीनबाहिरबाट मात्रै फलोअर्स करोडौँ छन् । सिन्ह्वालाई ट्विटरमा एक करोड २५ लाख र चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन) लाई एक करोड ३५ लाखले पछ्याएको देखिन्छ । चाइना डेलीको समेत ४३ लाख फलोअर्स छन् ट्विटरमा । विश्वव्यापी रूपमा प्रसारण हुने सिएनएनको पाँच करोड र बिबिसीको दुई करोड ९६ लाख फलोअर्स छन् । चीनभित्र ट्विटर प्रतिबन्धित रहेको र स्वतन्त्रता नभएको ठानिने प्रेसको तुलनात्मक हिसाबले फलोअर्सको यो संख्यालाई उल्लेखनीय मान्नुपर्छ । 

चिनियाँँ मिडियाले सरकार तथा शीर्ष नेताबारे समाचारमा गर्ने सेल्फ सेन्सरलाई केही चिनियाँँले कन्फुसियस एवं लिगालिज्म संस्कृतिको हिस्सा भनेर प्रतिरक्षा गर्ने गर्छन् । चीनमा हजारौँ वर्षदेखि प्रभावमा रहेको कन्फुसियस संस्कृतिले सरकार तथा ठूलाबडाको विरोध गर्न नहुने कुरामा जोड दिन्छ भने लिगालिज्मले कानुनको आवश्यकता र तिनको पालनाको अपरिहार्यतामा जोड दिन्छ । तथापि विदेशी पर्यवेक्षक यसलाई कुतर्क मान्ने गर्छन् । चिनियाँ मिडियामा स्व–सेन्सरसिपको अभ्यास स्थापित छ ।

अधिकांश चिनियाँँ मिडिया सरकारी नीति तथा ठूला नेताको व्यक्तिगत जीवनको चर्चा गर्दैनन् । विगतमा सामाजिक कुरीति, वातावरण प्रदूषण, स्थानीय नेताको भ्रष्टाचारका विषयमा अनुसन्धानात्मक रिपोर्टिङ फस्टाउँदै गएकोमा सीको उदयपछि यसमा कमी आएको पाइन्छ । घरेलु विषयमा आलोचनात्मक रिपोर्टिङ नगर्ने चिनियाँँ मिडियाले दूरदराजका सकारात्मक सामग्रीहरूको भने मिहिनेतसाथ प्रचारप्रसार गर्छन् । केही मामला र विषयमा बाहेक चिनियाँँ मिडिया सकेसम्म अरू मुलुकका पनि नकारात्मक कुरा कोट्याइहाल्दैनन्, सकारात्मक कुरालाई नै बढी जोड दिन्छन् । राज्यस्तरकै नीतिका कारण हुन सक्छ, चिनियाँ मिडिया हरेक विषयको सुविचारित रिपोर्टिङ गर्छन् । 

केही फरक रूपमा सञ्चालित भए पनि चिनियाँ मिडियाको सञ्चालन भने विश्वस्तरीय मानिन्छ । तिनको व्यावसायिकता पनि उच्चस्तरीय नै छ । राज्य सञ्चालित एवं राज्यकै एक निकायका रूपमा रहेको सिन्ह्वाको झन्डै ६० प्रतिशत खर्च ग्राहक सब्सक्रिप्सन्स्, एड, भ्यु एवं क्लिक्सबाटै धानिन्छ । विश्वभरका समाचार संस्थालाई समाचार सामग्री बेचेर पनि सिन्ह्वाले राम्रै रकम जुटाउँछ ।

चिनियाँ कम्पनीहरूलाई विदेशी मिडियाको स्वामित्व खरिदका लागि राज्यले नै प्रोत्साहित गरिरहेको मानिन्छ । चीनबाहिर चिनियाँ स्वामित्वअन्तर्गत सबैभन्दा ठूलो मिडिया सञ्जाल अफ्रिकामा सञ्चालित छ । चिनियाँ स्वामित्वअन्तर्गतको स्टार टाइम्स केन्यालाई बेस बनाएर सञ्चालित छ । अफ्रिकाभर यसका दुई करोड ५० लाखभन्दा बढी ग्राहक रहेको विश्वास गरिन्छ । 

चीनमा सन् १९९० पछि सन्ध्याकालीन एवं महानगर (मेट्रो पब्लिकेसन्स) प्रकाशनहरू मौलाए, तीनले चीनियाँ कम्युनिस्ट पार्टीको लाइनविपरीत नहुने र राज्यको नियम बर्खिलाप नहुने गरी सहरी जीवनशैली र विषयवस्तुलाई सामग्री बनाउँछन् । यसविपरीत पार्टी समर्थित पत्रिकाहरूले भने चिनियाँँ समाजका सीमान्तकृत समुदायको कथालाई पनि कभरेज राम्ररी गर्न सकेका छन् ।

चीनको प्रभाव विस्तारका लागि पछिल्लो समय चीनले विश्वभरका विकासशील मुलुकबाट बर्सेनि हजाराँै पत्रकारलाई चीनको अध्ययन भ्रमण गराउने गर्न थालेकोे छ । उनीहरू चिनियाँ मूल्य एवं जीवनशैलीप्रति विश्वलाई आकर्षित गराउन चाहन्छन् । यस परियोजनाअन्तर्गत कैयौँ नेपाली पत्रकारले चीनको भ्रमण गरिसकेका छन् ।  सन् २०१९मा थाइल्यान्ड र सिन्ह्वाबीच आसियान–चाइना इअर अफ मिडिया एक्सचेन्ज सम्झौता भयो, जसअनुसार सिन्ह्वाले थाई मिडियाका लागि सामग्री उपलब्ध गराउनेछ । सिन्ह्वा तथा सिसिटिभीमा काम गर्न विश्व पत्रकारिता जगत्का अग्रणी बिबिसी तथा न्युयोर्क टाइम्सका पत्रकारसमेत लालायित हुने गरेका छन् । जसको कारण यी संस्थाको बढ्दो प्रभाव नै हो ।

सुझावित समाचार